हात्तीपाइले संक्रमितलाई स्वहेरचाहले सहज

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८१ मंसिर १५, शनिबार १४:०३

विराटनगर । मोरङको रंगेली नगरपालिका–८ दर्वेसाकी ४८ वर्षीया महिला २० वर्षदेखि हात्तीपाइले रोगको संक्रमणसँग जुधिरहेकी छन् ।

दाहिने खुट्टा अस्वभाविक रूपमा सुन्निएको छ । हिँडडुल र काम गर्न गाह्रो छ । दैनिकी प्रभावित हुने नै भयो । दुखाइको पीडा सहिनसक्नु हुन्छ । एकाएक खुट्टा सुन्निन थालेपछि विभिन्न स्वास्थ्य संस्थामा पुगिन् । चिकित्सकले अवस्था जटिल भइसकेको भन्दै स्वयं हेरचाह मात्रै एक मात्र विकल्प भएको बताए । तर, उपचार सम्भव भएन ।

Advertisement

कष्टपूर्ण जीवन बिताउँदै २ दशकदेखि संघर्ष गरिरहेकी उनलाई अहिले अलि राहत भएको छ । ती महिलाले हात्तीपाइले लागेको खुट्टाको स्वहेरचाह (आफैं हेरचाह) गर्ने तरिका सिकेकी छन् । त्यसले दुखाइको पीडामा थोरबहुत मलमपट्टी मिलेजस्तो भएको छ ।

‘पछिल्ला वर्ष निक्कै सहज महसुस भइरहेको छ । मैले तालिम लिएर आफैं खुट्टाको राम्ररी र नियमित स्याहार गर्न सिकेकी छु । विगतभन्दा निक्कै सजिलो हुन थालेको छ । २ वर्षयता त्यति गाह्रो छैन । पहिले त सुन्निएको खुट्टा कतै ठोक्किँदा ज्यान नै गएजस्तो पीडा हुन्थ्यो । अहिले पीडा निक्कै कम छ । खुट्टाकै तौल घटेजस्तो अनुभव हुन्छ,’ उनले भनिन् ।

फेयरमेडको सहयोगमा सहारा नेपालद्धारा सञ्चालित विश्वास परियोजनाले उनलाई स्वहेरचाह तालिम दिएको हो । परियोजनाले ‘सेल्फ केयर’ तालिम दिएपछि नियमित स्याहार गर्न थालेकाले खुट्टामा संक्रमण हुन छाडेको उनको अनुभव छ ।

सहारा नेपालकी सामाजिक स्वास्थ्य परिचालक पूजा साहका अनुसार सुरुमा ती महिलालाई अस्पताल लगिएको थियो । चिकित्सककै सल्लाहमा ‘सेल्फ केयर’ तालिम प्रदान गरिएको साह बताउँछिन् । उनका अनुसार तालिमसँगै हात्तीपाइले पीडितले आफैं घाउको सरसफाइ गर्न सिकेपछि उनीहरुको दैनिकी निक्कै सहज भएको छ ।

पत्रकारसहितको टोली बिहीबार स्थलगत अनुगमनमा पुग्दा ती महिलाले खुट्टाको सरसफाइ र हेरचाहमा ध्यान दिँदा अस्पताल गइरहनुपर्ने बाध्यता टरेको बताइन् । आफूले भोग्दै आएको पीडा खुलेरै सुनाइन् । उनका अनुसार अहिले स्वास्थ्य परिचालकहरु विभिन्न समयमा निगरानीका लागि आउने गरेका छन् ।

सहाराको अग्रसरतामा उनले अपांगता परिचयपत्रसमेत पाएकी छन् । ‘सुरुमा केही थाहा थिएन । दुखेर हैरान हुन्थ्यो । निक्कै समस्या भोगिरहेकी थिएँ । अहिले गाह्रो छैन,’ उनी भन्छिन् ।

उनीजस्तै रंगेली नगरपालिकाभित्र स्वास्थ्य समस्या भोगिरहेकाको संख्या २ सय ५० जति छ । विज्ञहरु लामखुट्टे (मच्छर)को टोकाइबाट लाग्ने हात्तीपाइलेको असर खुट्टा, स्तन, अण्डकोषलगातमा देखिने बताउँछन् । नगरभित्र खुट्टा, स्तन तथा अण्डकोष सुन्निने समस्या भएकाको संख्या अढाई सय रहेको रंगेली नगरपालिका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र मण्डलले बताए ।

मण्डलका अनुसार खुट्टा मात्रै सुन्निने हात्तीपाइले संक्रमितको संख्या ३८ छ । हात्तीपाइले र कुष्ठरोगले शारीरलाई अपांगता बनाउने र हानि गर्ने उनले बताए । ‘अहिले ४ जनाले नियमित औषधि खाइरहेका छन् । जनस्वास्थ्यका हिसाबले यसलाई गम्भीर मानिन्छ,’ उनले भने ।

सन् २०२१ देखि सञ्चालनमा आएको विश्वास परियोजनाले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा काम गरिरहेको छ । हात्तीपाइले, कुष्ठरोगजस्ता उपेक्षित उष्णप्रदेशीय रोगहरुको पहिचान र रोकथामका लागि सहजीकरण गरिरहेको परियोजना संक्रमितको सारथि बनेर उभिएको छ ।

परियोजनाले उपेक्षित तथा उष्णप्रदेशीय रोग, मातृ तथा नवजात शिशु स्याहार, अपांगता भएका व्यक्तिको स्वास्थ्य सुधारलगायतका काम गरिरहेको कार्यक्रम संयोजक पवन राईले बताए । उनका अनुसार मोरङका उर्लाबारी, पथरीशनिश्चरे, जहदा, धनपालथान, रंगेली, रतुवामाई र सुनवर्षीमा परियोजनाले काम गरिरहेको छ ।

मोरङमा हात्तीपाइलेका नयाँ तथा पुराना संक्रमित ३ हजार २० जना रहेको राई बताउँछन् । उनका अनुसार हात्तीपाइले तथा कुष्ठरोगको समस्या भएका ३ सय ३६ जनालाई स्वहेरचाह तालिम दिइएको छ । ‘तालिमपछि संक्रमित स्वयं आफ्नो हेरचाह गर्न समक्ष भए । ७० जना विशेष परिस्थितिका कुष्ठरोगी र हात्तीपाइले संक्रमितमा सुधार देखिएको छ,’ राई भन्छन् ।

अपांगता भएका ७६ जनालाई सहायक सामग्री प्रदान गरिएको छ । हात्तीपाइले र कुष्ठरोग लागेका ९२ जनालाई सीपमूलक तालिम दिइएको छ । कार्यक्रम संयोजक राईका अनुसार दुवै रोगबाट प्रभावित बनेर अपांगता भएकालाई परियोजनाले सहयोग गरिरहेको छ ।

सहारा नेपाल उपेक्षित उष्णप्रदेशीय रोगहरु, मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम र अपांगता समावेशी विकास कार्यक्रम लक्षित छ । हात्तीपाइले, कुष्ठरोग, डेंगु, रेबिज, जुका, सर्पदंश, कालाजार, लुतो, फित्तेजुका, खस्रेलगायत उपेक्षित उष्णप्रदेशीय रोगभित्र पर्छन् । अहिले नयाँ रोगका रुपमा नोमा पहिचान भएको छ ।

परियोजनाले उपेक्षित उष्णप्रदेशीय रोगहरुको बारेमा नागरिकमा सचेतना जगाउँदै रोकथामका लागि काम गरिरहेको फेयरमेडका टिम लिडर डम्बरसिंह गुरुङले बताए । उनका अनुसार परियोजनाले विभिन्न १० प्रकारका उपेक्षित उष्णप्रदेशीय रोगसहित गर्भवती तथा सुत्केरी, नवजात शिशु स्याहार र अपांगता भएका व्यक्तिको क्षेत्रमा काम गरिरहेको छ ।

‘गाउँगाउँमा विभिन्न रोगको संक्रमण छ । अशिक्षा र अज्ञानतका कारण ती रोग लुकाएर बस्नेहरु धेरै छन्,’ गुरुङ भन्छन्, ‘अहिले राज्यको ध्यान विकास र स्वास्थ्यमा केन्द्रित हुनुपर्ने देखिन्छ । त्यसमा सबैको भूमिका महत्वपूर्ण हुन्छ ।’

हात्तीपाइले (फाइलेरिया) लामखुट्टेको टोकाइबाट लाग्ने सरूवा रोग हो । मानिसको खुट्टा साधारण अवस्थामा भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको विज्ञहरु बताउँछन् । लामखुट्टेले हात्तीपाइले भएको मानिसलाई टोकेर उसमा भएको परजीवी आफूमा लिन्छ र अरू स्वस्थ्य मान्छेमा सार्छ ।

स्वास्थ्य सचेतना जगाउँदै आमा समूह
सुनवर्षी नगरपालिका–२ अमरदहको बराल टोलमा सिर्जना स्वास्थ्य आमा समूह छ । समूहको बैठक प्रत्येक महिना बस्छ । स्वास्थ्यसम्बन्धी अनेक विषयमा छलफल हुन्छ । प्रतिव्यक्ति मासिक १ सय रूपैयाँ पनि जम्मा गरिन्छ ।

गाउँघरमा स्वास्थ्य सचेतना जगाउने काममा आमा समूह अग्रसर छ । बिहीबार पनि समूहको बैठक बसिरहेको थियो । समूहकी सदस्य भीमा खड्का छलफल र बैठकबाट महिलालाई सुत्केरी गराउन अस्पताल लैजानुपर्छ भन्ने थाहा भएको बताउँछिन् ।

‘महिलाको स्वास्थ्य समस्यासम्बन्धी विभिन्न कुराको जानकारी भयो । हाम्रो बैठकमा नजवात शिशुलाई लगाउने खोपदेखि गर्भवती, सुत्केरी, झाडापखाला, डेंगु, कुष्ठरोग, पोषणलगायतका बारेमा थाहा भयो,’ उनले भनिन्, ‘सधैं झुल लगाएर सुत्नुपर्छ भन्ने ज्ञान सबैमा पुगेको छ । सबै घरमा शौचालय बनेका छन् ।’

स्वास्थ्य चौकी अमरदहका इन्चार्ज सुरेश महतो आमा समूहको सक्रियताले गाउँमा स्वास्थ्य सचेतना बढेको बताउँछन् । ‘पहिले घरमा सुत्केरी गराउनेहरु अहिले अस्पताल पुग्न थालेका छन् । गर्भ चेकजाँच नियमित गर्नुपर्छभन्ने सन्देश सबैतिर पुगेको छ,’ उनले भने, ‘नियमित गर्भ जाँचका लागि आउनेको संख्या बढेको छ । गाउँका महिला जागरुक भएका छन् ।’ आमा समूहमार्फत स्वास्थ्य कार्यक्रम टोलटोलमा लैजाने गरिएको महतो बताउँछन् ।

आमा समूहले गाउँघरमा हुने स्वास्थ्य, सरसफाइदेखि गर्भवती र सुत्केरीका समस्याको बारेमा छलफल गर्ने गरेको स्वास्थ्य स्वयंसेविका राजश्री ढुंगानाले बताइन् । गर्भवती महिलाको घर पहिचान, सुत्केरीको अवस्था, नियमित गर्भ जाँचदेखि ८ पटकसम्म गर्भ जाँच गराए/नगराएको विषयमा बैठकमा छलफल हुने गरेको उनले बताइन् ।

त्यस्तै, आइरन चक्की खाए/नखाएको, चर्पीको प्रयोग, सरसफाइलगायतको विषयमा आमा समूहको बैठकमा छलफल हुने ढुंगानाको भनाइ छ । सहारा नेपालले सामाजिक परिचालकमार्फत समूहलाई प्रशिक्षण दिन्छ ।

हात्तीपाइले तथा कुष्ठरोगलगायतको पहिचानका लागि पनि आमा समूहले सहयोग गरिरहेको सहारा नेपाल मोरङका कार्यक्रम सुपरभाइजर सौरभ बगालेले बताए । उनका अनुसार मोरङमा ७७ वटा आमा समूह छन् । सबै समूहको नियमित बैठकका लागि परियोजनाले सहजीकरण गर्ने बगाले बताउँछन् ।

आमा समूहमार्फत धेरै कामहरू सम्भव भएकाले कार्यक्रम निक्कै प्रभावकारी देखिएको उनको भनाइ छ । मोरङका १७ वटै पालिकामा कार्यक्रम विस्तारको लक्ष्य राखिएको छ । अहिले ७ वटामा मात्रै केन्द्रित छ ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
एमाले महाधिवेशन : ओली र पोखरेलको उम्मेदवारी दर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.