
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–५ मा बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ ।
प्रहरीका अनुसार विदेह–५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो । घरभन्दा करिब डेढ किलोमिटर टाढा उनको शव फेला परेको थियो । शरीर र टाउको करिब सय मिटर वरपर फेला परेको प्रहरीले जनाएको छ ।
धनुषा प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले महिलाको शरीर शिवनारायण मण्डलको खेतमा र टाउको कमला नदीको नहरमा भेटिएको जानकारी दिए । उनका अनुसार शरीर नग्न अवस्थामा थियो ।
धारिलो हतियारले घाँटी छिनाएर हत्या गरेपछि शरीर एकातिर र टाउको अर्कातिर फालेर हत्यामा संलग्न फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतका पति लामो समयदेखि वैदेशिक रोजागारमा रहेको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यले दिएको जानकारी अनुसार हत्या गरिएकी महिला गत मंगलबार घाँस काट्न भन्दै घरबाट निस्किएकी थिइन् । घर नफर्किएपछि खोजी थालिएको थियो । खोजतलास गर्दा बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो । दुई जनालाई प्रहरीले छाडिसकेको छ । एक जनालाई मात्रै हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी तिवारीले बताए ।

























