काठमाडौं । विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले थप ३ दिन प्रहरीको हिरासतमा बस्नुपर्ने भएको छ ।
विद्युतीय कारोबार ऐन (साइबर अपराध)को मुद्दामा अनुसन्धान जारी रहेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले आइतबार थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनी अहिले केन्द्रीय साइबर ब्युरो हिरासतमा छन् ।
प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विभिन्न व्यावसायीलाई धम्कयाएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयाँलसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिया लगानी रहेको अभिव्यक्ति दिनुका साथै ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए । अहिले साइबर ब्यूरोले उनीमाथि यही विषयमा अनुसन्धान गरिरहेको छ ।