काठमाडौं । गृहयुद्धका कारण सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् ।
विद्रोही समूहले राजधानी कब्जा गरेपछि उनी परिवारसहित भागेर रूसको राजधानी मस्को पुगेका हुन् ।
सिरियाका राष्ट्रपति असदलाई रूसले शरण दिएको छ । असद र उनको परिवारका सदस्यलाई ‘मानवीय दृष्टिकोण’का आधारमा रूसले शरण प्रदान गरेको स्रोतलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।
विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस)ले आइतबार देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए ।
बसर अल असद २४ वर्षदेखि सिरियाको सत्तामा छन् । असद परिवारको शासन भने ५० वर्षसम्म चलेको थियो । सिरियामा सन् २०११ मा राष्ट्रपति असदविरुद्ध सुरु भएको शान्तिपूर्ण विद्रोह गृहयुद्धमा परिणत भएको थियोे । यो लडाइँमा पाँच लाख भन्दा बढीको मृत्यु भइसकेको छ । एक करोड २० लाखभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् ।