समुद्री मार्गदेखि ऊर्जासम्मको झट्का, व्यवसायीलाई टिक्नै मुस्किल

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार ०७:३०

एजेन्सी । अमेरिकाका व्यवसायीहरू एकपछि अर्को संकटको चपेटामा परेका छन् । आपूर्ति शृङ्खलामा देखिएको अवरोध, इन्धन तथा ढुवानी लागतमा भएको वृद्धि, कच्चा पदार्थको मूल्यमा अस्थिरता र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण व्यापारिक वातावरण थप जटिल बनेको छ ।

अमेरिकाका केही व्यवसायीले अहिलेको अवस्था कोभिड–१९ (कोरोना) महामारीको समयभन्दा पनि कठिन रहेको बताएका छन् । कोभिडका बेला आपूर्ति शृङ्खला लगभग ठप्प भएको थियो । अहिले भने आपूर्ति व्यवस्था सञ्चालनमै रहे पनि कहिले सहज हुने र कहिले फेरि अवरुद्ध हुने अवस्थाले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन बनाएको छ ।

Advertisement

कफी व्यवसायमा यसको प्रभाव अझ स्पष्ट देखिएको छ । नर्थ क्यारोलिनाको रालेमा रहेको डिलवर्थ कफीका प्रमुख कार्यकारी जेफ भोयटाले पछिल्ला वर्षमा लगातार नयाँ चुनौती सामना गर्नु परेको बताएका छन् । सन् २०२४ मा ब्राजिलमा कफी उत्पादन कमजोर भएपछि विश्व बजारमा कफीको मूल्य उच्च भएको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको विश्वव्यापी भन्सार शुल्कले पनि कफीको लागत बढाएको उनको भनाइ छ ।

यस वर्ष इरानसँग जोडिएको युद्ध र ऊर्जा बजारमा देखिएको अस्थिरताले समस्या थपेको छ । त्यसमाथि मौसममा आएको परिवर्तन र ‘सुपर एल निनो’को प्रभावले ब्राजिल तथा भियतनामजस्ता प्रमुख कफी उत्पादक देशको उत्पादनप्रति थप चिन्ता बढाएको छ ।

भोयटाका अनुसार ढुवानीमा भइरहेको अवरोध, कन्टेनरको अभाव, लाल सागरको असुरक्षा र मलको बढ्दो मूल्यले व्यवसाय सञ्चालनको लागत अस्वाभाविक रूपमा बढाएको छ । उनका अनुसार पहिले उनको कम्पनीले कफीको आपूर्ति स्रोत १२ देखि २४ महिनाअघि नै निश्चित गर्थ्यो । अहिले तीनदेखि छ महिनाअघि मात्रै स्रोत तय गर्नुपर्ने अवस्था आएको छ ।

अमेरिकाका अन्य क्षेत्रका व्यवसायीले पनि यस्तै समस्या सामना गरिरहेका छन् । इन्स्टिच्युट फर सप्लाइ म्यानेजमेन्ट (आईएसएम)को मासिक सर्वेक्षणमा सहभागी केही व्यवसायीले अहिलेको आपूर्ति शृङ्खलाको अवस्थालाई कोभिड महामारीको समयभन्दा पनि जटिल बताएका छन् ।

व्यवसायीका लागि अहिलेको मुख्य समस्या सामान नपाइनु मात्र होइन, लागत कति बढ्छ भन्ने पूर्वानुमान गर्न नसक्नु पनि हो । कच्चा पदार्थ, इन्धन र ढुवानीको मूल्यमा भइरहेको निरन्तर उतारचढावले उत्पादन र बिक्रीको योजना प्रभावित भइरहेको छ । अर्कोतर्फ महँगीका कारण उपभोक्ताको खर्च गर्ने क्षमता घटेकाले बढेको लागतको सम्पूर्ण भार ग्राहकमा सार्न पनि व्यवसायीलाई कठिन भएको छ ।

डेनभर विश्वविद्यालयको आपूर्ति शृङ्खला कार्यक्रमका निर्देशक ज्याक बफिङ्टनले अहिलेको समस्या सामान्य आपूर्ति शृङ्खलाको अवरोधमा मात्र सीमित नरहेको बताएका छन् । उनका अनुसार ऊर्जा बजारमा देखिएको समस्या आपूर्ति शृङ्खलासँग जोडिँदा यसको प्रभाव अर्थतन्त्रका धेरै क्षेत्रमा फैलिएको छ ।

इन्धनको मूल्यमा भएको वृद्धिले उत्पादनदेखि ढुवानीसम्मका लागत बढाएको छ । पश्चिम एसियामा जारी युद्ध र युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा गरिरहेको आक्रमणका कारण डिजेलको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । यसको असर सामान ओसारपसार र उत्पादन लागतमा परेको छ ।

मौसमसम्बन्धी घटनाले पनि विश्वव्यापी ढुवानी प्रणालीलाई प्रभावित गरेको छ । चीनको सांघाई बन्दरगाहमा लगातार आएका दुईवटा आँधीका कारण करिब दुई सातासम्म काम प्रभावित भएको थियो । त्यसको असर विश्वव्यापी आपूर्ति प्रणालीमा अझै देखिएको व्यवसायीहरूले बताएका छन् ।

इरानसँगको युद्ध अन्त्य भए पनि ऊर्जा तथा ढुवानीसँग जोडिएका सबै समस्या तत्काल समाधान नहुने व्यवसायीहरूको आकलन छ । रुसी डिजेल निर्यातमा लगाइएको प्रतिबन्धले पनि विश्व बजारमा आपूर्तिको दबाब कायम राखेको छ ।

लाल सागर क्षेत्रमा इरानसमर्थित हुथी समूहको गतिविधि तथा अदनको खाडीमा समुद्री डाकुको जोखिमका कारण धेरै पानीजहाजले वैकल्पिक लामो समुद्री मार्ग प्रयोग गरिरहेका छन् । अफ्रिका महादेशको फन्को मारेर जहाज सञ्चालन गर्नुपर्दा यात्रा समय र इन्धन खर्च बढेको छ । यसले विश्वव्यापी ढुवानी क्षमतामा समेत असर पारेको लजिस्टिक्स क्षेत्रका व्यवसायीहरूको भनाइ छ ।

फ्लेक्सपोर्टका प्रमुख कार्यकारी रायन पिटर्सनले आफू २५ वर्षदेखि लजिस्टिक्स क्षेत्रमा रहे पनि अहिले देखिएको जस्तो कठिन अवस्था पहिले नदेखेको बताएका छन् । डोरी, कर्ड र पट्टा उत्पादन गर्ने कम्पनी राभेनक्सका प्रमुख कार्यकारी सीन ब्राउनलीका अनुसार लागत वृद्धिको दबाब साना व्यवसायमा अझ बढी परेको छ ।

उनका अनुसार साना कम्पनीले सामान्य अवस्थामा बढेको लागत केही समय आफैँ धान्ने प्रयास गर्छन् । तर, अहिले लागतमा आएको वृद्धि तीव्र भएकाले त्यसलाई लामो समयसम्म थेग्न कठिन भइरहेको छ ।

ब्राउनलीले अमेरिकामै उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले कम्पनी सञ्चालन गरे पनि अहिलेको अनिश्चित वातावरणले व्यवसायिक निर्णय प्रभावित गरिरहेको बताएका छन् । व्यवसायीहरूलाई स्थिर र पूर्वानुमान गर्न सकिने वातावरण आवश्यक रहेको उनको भनाइ छ ।

कोभिड महामारीको समयमा बन्दरगाहमा कन्टेनर जहाजहरू लामो समय रोकिएका थिए । बजारमा ट्वाइलेट पेपर, मास्क र ह्यान्ड स्यानिटाइजरजस्ता अत्यावश्यक सामग्रीको समेत अभाव भएको थियो । आपूर्ति शृङ्खला लगभग ठप्प भएर केही समयपछि विस्तारै सामान्य अवस्थामा फर्किएको थियो ।

अहिलेको अवस्था भने त्यसको तुलनामा फरक देखिएको छ । सामानको ढुवानी पूर्ण रूपमा बन्द नभए पनि विभिन्न कारणले बारम्बार अवरोध भइरहेको छ । कुनै समय ढुवानी लागत घट्ने र केही समयपछि फेरि बढ्ने अवस्था छ । यही अनिश्चितताले व्यवसायीलाई आगामी महिनाको लागत र बिक्रीको अनुमान गर्न कठिन बनाएको छ ।

डिलवर्थ कफीका भोयटाका अनुसार महामारीका बेला उत्पन्न संकट गम्भीर भए पनि अहिलेको अनिश्चितता व्यवसाय सञ्चालनका दृष्टिले थप तनावपूर्ण बनेको छ । उनको कम्पनीमा सामान्य अवस्थामा मासिक बिक्रीमा करिब ५ प्रतिशतसम्म मात्र उतारचढाव हुने गरेको थियो । अहिले भने बिक्रीमा २० प्रतिशतसम्म परिवर्तन देखिन थालेको छ ।

ढुवानी र डिजेलको लागत कति समय उच्च रहने हो भन्ने निश्चित नभएकाले त्यसको भार ग्राहकमा कसरी सार्ने भन्ने समस्या पनि व्यवसायीका लागि चुनौती बनेको छ । ग्राहक आफैँ महँगीको दबाबमा रहेकाले मूल्य बढाउँदा बिक्री घट्ने जोखिम छ भने मूल्य नबढाउँदा व्यवसायको नाफा घट्ने अवस्था छ ।

यसरी ऊर्जा, मौसम, युद्ध, व्यापार नीति र ढुवानीसँग सम्बन्धित अलगअलग समस्याको प्रभाव एउटै समयमा व्यवसायमा परेपछि अमेरिकी कम्पनीहरूका लागि आगामी दिनको योजना बनाउनु झनै कठिन बनेको छ । आपूर्ति शृङ्खला चलिरहेको भए पनि त्यसको लागत, गति र स्थिरताको कुनै निश्चितता नहुँदा व्यवसायीहरू अहिले महामारीपछिको अर्को अस्थिर चरण सामना गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×