हुथीद्वारा रियादमा क्षेप्यास्त्र प्रहारको दाबी, साउदीको हवाई प्रतिरक्षाले रोक्यो

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार ०७:१७

एजेन्सी । यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित विभिन्न क्षेत्रमा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी गरेका छन् । साउदी अधिकारीहरूले भने रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत बीचमै नष्ट गरिएको बताएका छन् ।

हुथी सैन्य प्रवक्ता याह्या अल–सारियाले शनिबार जारी गरेको वक्तव्यमा रियादका संवेदनशील स्थल तथा यान्बुमा रहेको साउदी सरकारी तेल तथा ग्यास कम्पनी अरामकोका ऊर्जा केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेका छन् । उनका अनुसार ठूलो संख्यामा क्षेप्यास्त्र र ड्रोन प्रयोग गरिएको थियो ।

Advertisement

साउदी अधिकारीहरूले हुथीले दाबी गरेका सबै आक्रमणबारे पुष्टि गरेका छैनन् । आक्रमणबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण पनि सार्वजनिक भएको छैन ।

शनिबार बिहान रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इन्धन भण्डारण ट्यांकीबाट कालो धुवाँको मुस्लो देखिएको थियो । घटनापछि विमानस्थलको उडान सेवा केही समय प्रभावित भएको बताइएको छ । एएफपीका अनुसार रियादमा विस्फोटका आवाजसमेत सुनिएका थिए ।

जुलाईपछि हुथीले साउदी अरबमाथि आक्रमण तीव्र पारेयता रियादमा पहिलोपटक हवाई आक्रमणको चेतावनी सुनिएको थियो । साउदी नागरिक सुरक्षा निकायले राति रियादसहित विभिन्न क्षेत्रमा सम्भावित जोखिमका बारेमा मोबाइल फोनमार्फत चेतावनी पठाएको थियो । शनिबार बिहान भने जोखिम टरेको भन्दै ‘अल क्लियर’ जारी गरिएको थियो ।

हुथी प्रवक्ता अल–सारियाले आफ्नो आक्रमणलाई यमनको राजधानी सानामाथि साउदी अरबले गरेको भनिएको आक्रमणको जवाफ भएको बताएका छन् । उनले पछिल्लो एक सातामा साउदी अरबले यमनका विभिन्न क्षेत्रमा ३०० पटक आक्रमण गरेको आरोपसमेत लगाएका छन् । यी दाबीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन ।

साउदी नेतृत्वको गठबन्धनका एक प्रवक्ताले बिश, ताइफ, फरासान र यान्बुमा सर्वसाधारणलाई लक्षित गरी गरिएका आक्रमणका प्रयास हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन् । ती घटनामा कति क्षेप्यास्त्र वा ड्रोन प्रयोग भए र कति क्षति भयो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

मध्यपूर्वमा बढ्दो तनावका कारण अमेरिकाले आफ्ना नागरिकलाई पनि सतर्क रहन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सम्भावित उडान रद्द तथा अन्य यात्रा अवरोधलाई ध्यानमा राख्दै मध्यपूर्व हुँदै वा मध्यपूर्वमा यात्रा गर्ने योजनाबारे पुनर्विचार गर्न आग्रह गरेको छ ।

यमनमा हुथी विद्रोही र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ । यमन सरकारलाई साउदी अरबको समर्थन छ। पछिल्लो समय हुथी र साउदीसमर्थित सरकारी फौजबीचको भिडन्त पनि बढेको छ ।

एएफपीले सैन्य स्रोतहरूलाई उद्धृत गर्दै शनिबारको भिडन्तमा हुथीका ३१ लडाकु र सरकारी पक्षका १७ सैनिक गरी ४८ जनाको मृत्यु भएको जनाएको छ । उक्त विवरणको स्वतन्त्र पुष्टि भएको छैन । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)का अनुसार पछिल्लो लडाइँका कारण विस्थापित हुनेको संख्या एक लाख चार हजार ७९६ नाघिसकेको छ ।

यसैबीच, लालसागर आसपासको सामुद्रिक क्षेत्रमा पनि तनाव बढेको छ । हुथीले रणनीतिक महत्वको मोखा बन्दरगाह सहर र पेरिम टापु आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । यी क्षेत्र एसिया र युरोपबीचको महत्वपूर्ण समुद्री व्यापारिक मार्गनजिक पर्छन् ।

हुथीले आफूहरूको नियन्त्रणमा रहेका उत्तरपश्चिमी यमनका बन्दरगाह तथा विमानस्थलमा साउदी अरबले लगाएको नाकाबन्दीको जवाफमा सामुद्रिक नाकाबन्दी गरिएको बताएको छ ।

क्षेत्रीय तनावसँगै ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ । विशेषगरी लालसागरको सामुद्रिक मार्गमा अवरोध बढेमा साउदी अरबको तेल निर्यातसहित विश्वव्यापी आपूर्ति शृंखलामा असर पर्न सक्ने देखिएको छ ।

लगानी बैंकिङ कम्पनी जेपी मोर्गनले युद्धको अन्तिम परिणाम र त्यसले तेल बजारमा पार्ने प्रभावको आकलन गर्न कठिन रहेको जनाएको छ । मध्यपूर्वमा जारी सैन्य तनाव, लालसागरको सुरक्षा अवस्था र ऊर्जा आपूर्तिसम्बन्धी अनिश्चितताले विश्व बजारमा थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावितलाई चिनियाँ सहयोग
जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क कानुनी सहायता
कानुनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश चीनतर्फ
सनाखत हुन सकेनन् त्रिशूली-१ सुरुङबाट निकालिएका २४ शव
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
डमी खाताबाट कारोबार गरेको अध्यक्ष आङबाबुको स्वीकारोक्ति
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
असोज ८ देखि भारी वर्षाको चर्चा, मौसमविद् भन्छन्–अहिल्यै ठोकुवा गर्न सकिँदैन
लाइसेन्स छपाइमा नयाँ व्यवस्था, मधेशका ३ हजार ८१ प्रति सेवाग्राहीसम्म पुग्दै
विश्लेषक भरत दाहाल सुन्दरहरैँचाबाट पक्राउ, काठमाडौं पठाइँदै
एसियाड क्रिकेट टोलीको बिदाइ
एसियाड क्रिकेट टोलीको बिदाइ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×