
एजेन्सी । चीनको दक्षिण–पश्चिमी क्षेत्र सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको गिरोङ काउन्टीमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ । पहिरोमा अझै ५१९ जना बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।
गत अगस्ट २६ मा गएको पहिरोपछि प्रभावित क्षेत्रमा व्यापक रूपमा खोजी तथा उद्धार अभियान सञ्चालन भइरहेको छ । उद्धार टोलीले हालसम्म दुई जनालाई जीवितै निकाल्न सफल भएको बताइएको छ ।
पहिरोबाट २३ देशका २६१ जना विदेशी नागरिकसमेत प्रभावित भएका छन् । उनीहरूको अवस्थाबारे भने अझै यकिन जानकारी प्राप्त हुन सकेको छैन ।
घटनापछि चीनले खोजी, उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ । उद्धार अभियानका लागि सुरुङभित्र खोज तथा उद्धारमा दक्ष विशेषज्ञ, डीएनए परीक्षण विज्ञ तथा आवश्यक आपत्कालीन उपकरणहरू नेपालतर्फ परिचालन गरिएको जनाइएको छ ।
प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन चीनले ३२० टन बराबरका ‘बेली ब्रिज’का पाटपुर्जा तथा अन्य आवश्यक राहत सामग्रीसमेत उपलब्ध गराएको छ । उद्धार टोलीले बेपत्ताहरूको खोजीलाई निरन्तरता दिइरहेको छ ।

























