नेपाल-भारत सैन्य अभ्यास मंगलबारदेखि

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १४, आइतबार ०९:०७

काठमाडौं । साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण पर्सी मंगलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ ।

‘सूर्यकिरण’ नामक बटालियन स्तरीय संयुक्त सैन्य अभ्यास जंगल युद्ध, भौगोलिक रूपमा अति कठिन स्थलमा आतंकवादविरुद्धको अभियान, संयुक्त राष्ट्रसंघीय बडापत्र अनुरूप शान्ति स्थापना, मानवीय सहायता विपद् व्यवस्थापन एवं राहत परिचालन, आन्तरिक क्षमता विस्तार, वातावरण संरक्षणलगायत चुनौतीपूर्ण परिस्थितिमा सैन्य क्षमता अभिवृद्धिमा केन्द्रित हुनेछ ।

यही पुस २९ गतेसम्म जारी रहने तालिममा नेपाली सेनाको श्रीजंग बटालियन भारतीय सेनाको ११औँ गोर्खा राइफल्स सहभागी हुनेछ । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार यो अभ्यासबाट नेपाल र भारतबीचको मैत्री, विश्वास र साझा सांस्कृतिक सम्बन्ध अझ विस्तार हुनाका साथै दुई देशका व्यावसायिक सेनाको सहकार्य एवं सहयोग अझ सुदृढ हुने छ ।

विसं २०६७ बाट वार्षिक रूपमा नेपाल र भारतमा आलोपालो गरी हुने उक्त अभ्यासको १७औँ शृङ्खला अघिल्लो वर्ष भारतको पिथौरागढमा भएको थियो । हालसम्म नेपाली सेनाका चार हजार दुई सय १५ जना र भारतीय सेनाका चार हजार चार सय ४२ जना सैनिक यो अभ्यासमा सहभागी भएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.