
नेपाल प्रकृतिक सुन्दरताले भरिपूर्ण छ । सुन्दरताले सबैको मन लोभ्याउनु स्वभाविक हो ।
प्राकृतिक छटाले भरिपूर्ण दर्शनीय स्थलमध्ये एक हो, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ तार्केघ्याङमाथिको ‘आमा याङरी’ । आमा याङरी सूर्योदय, विभिन्न उपत्यका र हिमशृङ्खलालगायतका मनोरम दृश्यावलोकन गर्न सकिने पहाडको एउटा सुन्दर र आकर्षक चुचुरो हो । प्राकृतिक, धार्मिक एवं पर्यटकीय दृष्टिकोणले पनि यसको उत्तिकै महत्व छ ।

आमा याङरीमा साङ्दो पालरी गुम्बा सञ्चालन भएसँगै आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । त्यहाँ रहेको बौद्ध स्तुपा २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । त्यसैलाई पुनःनिर्माण गरेर करिब ५ करोड लगानीमा गुम्बा बनाइयो ।
अहिले गुम्बा भएको ठाउँमा पुगेर पूजापाठ गर्नेदेखि सूर्योदय र वरपरको हिमशृङ्खला तथा विभिन्न ठाउँको अवलोकन गर्न सकिन्छ । गुरु रिन्पोचे लामो समय ध्यान साधना गरेर बसेको धार्मिक विश्वासका कारण बौद्ध धर्मावलम्बीहरुका लागि हेलम्बु विशेष क्षेत्रका रुपमा परिचित छ । त्यहाँमाथि आमा याङरीले त्यसको महत्व झन् बढाएको पाइन्छ ।

हेलम्बुलाई ह्याल्मो जातिको उद्गमस्थल मानिन्छ । हेलम्बुको सिरानमा रहेको आमा याङरीलाई स्थानीयहरु रक्षाकी देवीका रूपमा पूजा गर्छन् ।
आमा याङरीको ‘बेसक्याम्प’मा रहेको च्योमुथाङ रिसोर्टका सञ्चालक तथा म्यानेजर पेम्बा दोर्जे शेर्पा आमा याङरीलाई रक्षाकी देवी मान्छन् । ‘आमाको अर्थ कसैले भन्नै पर्दैन । ‘याङ’ भनेको लक्ष्मी भगवान हुन् । ‘री’ भन्नाले पहाड भन्ने बुझिन्छ,’ उनले भने ।
शेर्पाको भनाइमा लक्ष्मी भगवानले पहाडी भेगलाई रक्षा गर्ने स्थानीय ह्याल्मो, शेर्पा र तामाङ जातजातिको विश्वास छ । आकर्षक र सुन्दर आमा याङरी समुन्द्री सतहबाट ३ हजार ७ सय ७१ मिटर (१२ हजार ३ सय ७२ फिट)को उचाइमा छ ।

आमा याङरी सिन्धुपाल्चोक र वरपरका लागि नयाँ नाम हैन । काठमाडौं उपत्यकादेखि आसपासका जिल्लाबाट त्यहाँ जानेहरुको भीड लाग्छ । तर, अन्यत्रका लागि भने नाम नै नौलो हो । जोकोही त्यहाँ पुगेका छैनन् ।
पुग्नेहरुलाई पनि चुचुरोसम्म जान निक्कै सकस पर्छ । तर, आमा याङरीको चुचुरोमा रहेको साङ्दो पालरी गुम्बा पुग्नेहरुले भने बेग्लै आनन्द लिन सक्छन् । स्वर्गको एउटा टुक्राको रूपमा व्याख्या गर्छन् ।
रिसोर्ट सञ्चालक शेर्पा सिन्धुपाल्चोक टेक्नेले आमा याङरी नपुगे यात्रा नै अपूर्ण हुने बताउँछन् । ‘यहाँका केही ठाउँहरु घुम्न लायक छन् । तर, घुम्नलाई सिन्धुपाल्चोक पुगेपछि आमा याङरी गए मात्रै यात्राले पूर्णता पाउँछ,’ उनी भन्छन् ।

त्यसै पनि सिन्धुपाल्चोक भूकम्प र बाढी पहिरोले थिलथिलो बनेको जिल्ला हो । कमजोर भूबनोटकै कारण प्राकृतिक विपत्तिको असर परिरहन्छ । तर, आमा याङरी पदयात्रा र दृश्यावलोकनका लागि अनुपम स्थानमध्येमा पर्ने शेर्पाले बताए ।
‘यहाँ आइपुग्नेले आहा ! आमा याङरी भनेरै प्रशंसा गर्छन् । नराम्रो कसैले भन्दैनन्,’ उनले भने, ‘तर, आमा याङरीसम्म आइपुग्न बाटो अप्ठेरो छ । सडक पूर्वाधार तथा पानीको अभावकै कारण केही समस्या भने झेल्नुपर्ने हुन्छ ।’ मेलम्ची हुँदै हेलम्बु गाउँपालिकाको केन्द्रसम्म पुग्नलाई बाटो सहजै छ ।

तर, हेलम्बुको केन्द्रबाट उकालो लागेपछि गाडीकै यात्रासमेत निक्कै सकसपूर्ण हुन्छ । भिरालो जमिन र कच्ची सडकले यात्रालाई अलि असहज बनाको महसुस हुन्छ । उकालोओरालो हिँड्ने बानी नभएकालाई केही गाह्रो पर्छ नै । तर, आमा याङरीले भने त्यो सबै बिर्साउँछ । सय किलोमिटर भन्दा बढीको दूरी तय गरेर आमा याङरी पुग्नेहरु पनि भेटिन्छन् ।
जुनसुकै गाडी ‘बेसक्याम्प’सम्म पुग्दैनन् । मोटरसाइकलमा जानेहरुको भने लर्को लाग्छ । यात्रुवाहक बस तार्केघ्याङसम्म पुग्छ । त्यहाँबाट करिब २ घण्टा उकालो हिँडेपछि मात्रै ‘बेसक्याम्प’ पुगिन्छ । ‘बेसक्याम्प’बाट मजाले हिँड्न सक्नेहरु करिब डेढदेखि दुई घण्टामा आमा याङरीको चुचुरोमा पुग्छन् ।

हिँडडुल गर्ने बानी नभएकाहरुलाई त त्यो पनि गाह्रो छ । आँट नै गर्नेहरु तीन घण्टाजतिमा पुग्छन् । अर्कोतर्फ ‘फोर ह्वील’ जिपहरु भने ‘बेसक्याम्प’सम्म नै पुग्छन् । अघिल्लो दिन ‘बेसक्याम्प’ पुगेर बास बस्ने र भोलिपल्ट बिहान करिब ४ बजेतिर आमा याङरी चढ्ने चलन रहेछ ।
किनभने सूर्योदयअघि नै पुगियो भने आमा याङरीबाट झन् मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । ‘बेसक्याम्प’माथि गाउँ छैन । घना जंगलबीचको ‘बेसक्याम्प’मा पनि एउटा रिसोर्ट (च्योमुथाङ रिसोर्ट) मात्रै छ । आमा याङरी जानेहरु अघिल्लो रात त्यही रिसोर्टमा पुगेर बास बस्छन् । हिउँ नै पर्ने भएकाले चिसो अत्यधिक हुन्छ ।

रिसोर्ट सञ्चालक शेर्पाका अनुसार उक्त रिसोर्ट ८५ जना क्षमताको छ । तर, कहिलेकाहीँ १ सय १५ जनाभन्दा बढीलाई अटाउनुपर्ने बाध्यतासमेत आउने गरेको उनले बताए । ‘रिसोर्ट एउटा मात्रै छ । सुरुमै ‘बुक’ गर्नुपर्छ । आमा याङरी जानेलाई सहजताका लागि रिसोर्ट खोलिएको हो,’ शेर्पा भन्छन्, ‘कोरोना महामारीकै समयमा पारिवारिक ६ जना सदस्य मिलेर हाम्रै ११ रोपनी जग्गामा रिसोर्ट खोल्यौं । रिसोर्ट खोलेको ४ वर्ष बितेको छ । सुरुमा धेरै समस्या झेल्नु परेपनि अहिले सहज छ ।’
कोही–कोही खबर नै नगरी र ‘बुक’ नगरिकन आइपुग्ने हुँदा रिसोर्टमा अटाउनुपर्ने बाध्यता हुने शेर्पाले बताए । ‘वरपर घरहरु छैनन् । साँझको समयमा आउनेलाई बाहिर पठाउने सम्भावना पनि हुँदैन । धेरैले खबर नगरी आइदिनु हुन्छ । अनि हामीलाई गाह्रो हुन्छ । कोचाकोच गरेर राख्नुपर्ने अवस्था आउँछ,’ उनले भने ।

कठिन बाटो छिचोलेर आइसकेपछि खबर नगरेकालाई पनि बासको व्यवस्था गरिदिनु आफूहरुको कर्तव्य हुने शेर्पाले बताए । उनी केही अघिसम्म याङरी एकेडेमी स्कुलमा पढाउँथे । पारिवारिक सल्लाहमा पर्यटन प्रवर्धनमा लागेको उनको भनाइ छ । ‘विदेशीभन्दा पनि आन्तरिक पाहुनाको बाहुल्यता छ । धेरै त उपत्यकाबाट आउनु हुन्छ,’ शेर्पा भन्छन् ।
रिर्सोटमा १० वटाजति जस्तापातासहितको पक्की घर र खुला मैदानमा असरल्ल टेन्टका घर छन् । आगन्तुकलाई स्वागत एवं खानपानको व्यवस्थाका लागि व्यवस्थित ‘किचन’ र ‘डाइनिङ रुम’ छ । त्यहाँ शौचालयको भने केही समस्या देखियो । टेन्टमा बस्नेका लागि बाहिर ‘कमन’ शौचालय रहेको थियो ।

स्थानीय जिप चालक बुद्धमान श्रेष्ठ ‘बेसक्याम्प’सम्मको सवारी यात्रा आफ्ना लागि प्रायः नियमितजस्तै रहेको बताउँछन् । जिप चालक ३० वर्षीय श्रेष्ठ भन्छन्, ‘मेरो ‘बेसक्याम्प’सम्मको सवारी यात्रा नियमितजस्तै हो । किउल बजार, ककनी, तार्केघ्याङ, चिरी गुम्बालगायतका स्थानमा खाद्यान्नलगायतका वस्तु ढुवानी गरिरहनु पर्छ ।’ केही असहज भएपनि आमा याङरीसम्मको यात्रा आनन्दमयी हुने उनले बताए ।
स्थानीय ठाउँका बारेमा परिचित श्रेष्ठ नयाँ पाहुनाका लागि ‘गाइड’कै भूमिका निर्वाह गर्न सक्षम छन् । ‘बाटोमा अनेक अप्ठेरा आइपर्छन् । तर, नयाँ ठाउँमा घुम्न जाँदा अप्ठेरोले कुनै असर गर्दैन । यहाँको सडक, भूबनोट, स्थानीयको बग्लै रहनसहन, मौलिकता, मौसम, प्राकृतिक सुन्दरता आदिले यहाँ आउनेहरुलाई आनन्द प्रदान गर्छ,’ वारिपारि हिउँ परेर सेताम्य भएका डाँडाहरु देखाउँदै श्रेष्ठले थपे ।

आमा याङरी जाँदा बाटोबाट ककनी, हेलम्बुलगायत दर्जनौं गाउँ, झर्नाहरु, डाँडाकाँडा तथा लाङटाङ, मनास्लु, अन्नपूर्ण, जुगल, लाक्पा दोर्जेलगायतका हिमशृङ्खलाको दृश्य अति सुन्दर देखिन्छन् । आमा याङरी पुगेर हिमाली दृष्य, मनोरम रुपमा उदाँउदो सूर्य, पहाडी भेग हेर्न सकिन्छ ।
‘आमा याङरीको ‘बेसक्याम्प’ पुग्न धेरै जनाले मोटरसाइकलको प्रयोग गर्छन् । सडक र रुटको अवस्थाका बारेमा जानकारी नभएका तथा पहिलोपटक आएका त ठाउँठाउँमा लड्दै पुग्छन् । यहाँ विभिन्न अनुभव संगाल्न पाइन्छ । तर, आमा याङरी पुग्नेहरुले त्यो ठाउँलाई सधैं सम्झिरहन्छन्,’ श्रेष्ठले भने ।

आधार शिविर (बेसक्याम्प)सम्म बिजुली पुगेको छ । नेपाल टेलिकमको इन्टरनेट सेवा पनि छ । तर, इन्टरनेट बेलाबेला मात्रै आउँछ । भरपर्दो छैन । टेलिफोन पनि मुस्किलले लाग्छ । ‘रिसोर्टमा सुधार गर्नुपर्ने धेरै पक्षहरु छन् । तर, व्यावसायिक आधारलाई हेर्दा गजब छ,’ गाडी चालक श्रेष्ठले भने, ‘बिहानपख फुरफुर तुसारो पर्छ । वरपरको दृश्यले मन नै फुरुङ्ग बनाउँछ ।’
आमा याङरी चढ्ने बाटो अनकन्टार र जंगलले भरिएको भए पनि कुनै जोखिम नहुने स्थानीय बताउँछन् । ‘घना जंगल र अनकन्टार ठाउँ छ । नाकै ठोक्किने उकालो छ,’ श्रेष्ठ भन्छन्, ‘बानी नपरेकाहरु त हिँड्न सक्दैनन् । तर, चुचुरो पुगिसकेपछि गलेको कुनै वास्ता हुँदैन ।’

अर्कोतर्फ आमा याङरी पुग्नुअघि नै बौद्ध धर्मावलम्बीहरुले अर्पण गर्ने बुद्धका चित्रहरु अंकित ध्वजापताका र तोरणहरु टांगिएको भेटिन्छ । ध्वजापताका र तोरणहरुले आमा याङरी वरपरको दृश्यलाई थप मनमोहक बनाउँछ । बाटोमा भेटिने गुराँसका बोट र पहाडी उचाइमा टाँगिएका ध्वजापताकाहरुले बेग्लै अनूभुति दिलाउने श्रेष्ठको अनुभव छ ।
आमा याङरी पुगेर दृश्यावलोकनमा रमाउनेहरुको कमी हुँदैन । दृश्यावलोकनदेखि सेल्फी खिच्ने र वरपरका दृश्य आफ्नो क्यामेरामा कैद गर्नेहरु प्रशस्त भेटिन्छन् । विशेष गरेर युवायुवतीको झुन्ड यसमा बढी रमाइरहेको देखिन्छ ।

गाडी चालक श्रेष्ठले भने, ‘बादललाई छिचोलेर उक्लिरहेको घामको किरण डाँडामा पर्दा साह्रै राम्रो देखिन्छ । सूर्यको किरणले चाँदीजस्तै टल्किने हिमालहरुलाई सुनौलो बनाइदिन्छ । योभन्दा अरु मनमोहक दृश्य अरु हुन्छ र ?’ चिसो सिरेटो, जाडो र उकालोको थकानलाई मेटाउन झुल्के घाम र त्यसको किरण पर्याप्त रहेको अनुभव उनी सुनाउँछन् ।
‘यस्तै दृश्य हेर्न त विदेशबाट पर्यटकहरु नेपाल आउने हुन् । आमा याङरीबाट हिमालकै काखमा पुगेजस्तो अनुभूति हुन्छ । यस्तो स्वर्गजस्तो ठाउँमा पर्यटकीय पदमार्ग बनाउन सकेमा निक्कै राम्रो हुने थियो । तर, विडम्बना । सरकार यहाँसम्म कहिले आइपुग्ला र ? अहिले आन्तरिक पर्यटकलाई थेग्न नै हम्मेहम्मे हुने हेलम्बुको यस स्थानमा विदेश पर्यटक आउन थाले झन् कस्तो हुन्थ्यो होला ?,’ श्रेष्ठले प्रश्न गरे ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो सूर्योदय, विभिन्न हिमशृङ्खलादेखि हेलम्बु र पाँचपोखरीका उपत्यकालाई नजिकैबाट नियाल्न सकिने आमा याङरीमा ‘ग्रेट ट्रेल’ निर्माणको प्रक्रिया अघि बढिसकेको बताउँछन् । उनका अनुसार ‘ग्रेट ट्रेल’ निर्माणका लागि गाउँपालिकाले २ करोड रूपैयाँ बजेट विनियोजन गरिसकेको छ । तार्केघ्याङमाथिको सडकका लागि ५० लाखको टेण्डर भइसकेको अध्यक्ष ह्योल्मो बताउँछन् ।
‘आगामी वर्षसम्ममा ‘ग्रेट ट्रेल’ बनाउने छौं । यहाँ विद्युतको सुविधा पुगेको छ । इन्टरनेट र टेलिफोनको अलि समस्या हो । त्यसको लागि मेलाम्ची बजारसम्म फाइबर पुगिसकेको छ । रिसोर्ट र पदमार्ग क्षेत्र राष्ट्रिय निकुञ्ज क्षेत्र आसपासमा पर्ने हुँदा फोनको सुविधामा समस्या भएको हो । त्यसको समाधान खोज्छौं,’ उनले भने ।

आमा याङरीको पर्यटन प्रवर्धनमा कुनै कसर बाँकी नराखिने ह्योल्मोले बताए । सडक, टेलिफोन, इन्टरनेट, खानेपानीलगायतको सुविधालाई प्रभावकारी बनाइने उनको भनाइ छ । आमा याङरी हेलम्बुको प्रमुख पर्यटकीय गन्तव्य रहेको जानकारी अध्यक्ष ह्योल्मोले दिए ।


























