
इलाम । पर्यटकीय गन्तव्य इलामको कन्याममा ‘कन्याम वृक्षालय’ सञ्चालनमा आएको छ । चिया, स्थानीय उत्पादन र नेपाली आतिथ्यलाई पर्यटकको अनुभवसँग जोड्ने उद्देश्यसहित स्तरीय होटल तथा रिसोर्टका रूपमा वृक्षालय सञ्चालनमा ल्याइएको हो ।
कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा निर्माण गरिएको चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्रसँगै वृक्षालय सञ्चालनमा आएको हो । लामो समयसम्म पूर्णरूपमा उपयोगमा आउन नसकेको उक्त संरचना सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र प्रक्रियामार्फत उत्तम प्रगति निर्माण सेवाले १० वर्षका लागि भाडामा लिएर सञ्चालनमा ल्याएको हो ।
सम्झौताअनुसार उपलब्ध गराइएका पाँचवटा भवनबाहेक सञ्चालक पक्षले करिब २ करोड रुपैयाँ थप लगानी गरी आवश्यक संरचना निर्माण तथा सुधार गरेको जनाएको छ । रिसोर्टका अध्यक्ष उत्तमकुमार श्रेष्ठका अनुसार भवनको मासिक भाडा करिब ३ लाख रुपैयाँ तिर्नेगरी सम्झौता भएको छ । वृक्षालयलाई होटल तथा रिसोर्टमा मात्र सीमित नगरी कन्यामलाई चिया, स्थानीय उत्पादन, मौलिक खानपान र नेपाली आतिथ्यको अनुभव लिने गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको श्रेष्ठले बताए ।
इलामको प्रमुख पहिचान चिया भएकाले चियालाई पेय पदार्थका रूपमा मात्र नभई ‘चिया पर्यटन’ को आधारका रूपमा विकास गर्ने सञ्चालक पक्षको लक्ष्य छ । चिया उत्पादनको प्रक्रिया, चियाबारी र स्थानीय किसानको मेहनतसँग पर्यटकलाई जोड्दै चियाको स्वादसम्मको अनुभव गराउने योजना बनाइएको छ ।
वृक्षालयले भारतको बिहार, पश्चिम बंगाल, भुटान, बंगलादेश र म्यानमारलगायत क्षेत्रबाट पर्यटक आकर्षित गर्ने लक्ष्य लिएको छ । इलाममा पर्यटकको बसाइ लम्ब्याउन स्थानीय होमस्टे, होटल तथा अन्य पर्यटकीय गन्तव्यसँग समन्वय गर्ने योजना पनि रहेको सञ्चालक पक्षले जनाएको छ । कम्तीमा चार रात पाँच दिनसम्म पर्यटकलाई इलाममै बस्ने वातावरण बनाउने लक्ष्य राखिएको छ ।
विश्व पर्यटन बजारमा लामो अनुभव भएका ४० वर्षमुनिका चार युवाको सामूहिक लगानी तथा व्यवस्थापनमा वृक्षालय सञ्चालनमा आएको जनाइएको छ । हाल यहाँ करिब २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । रोजगारीमा स्थानीय युवालाई प्राथमिकता दिइएको सञ्चालक पक्षले जनाएको छ ।
वृक्षालयका अनुसार काठमाडौं, चितवन, लमजुङ, बाँके र इलाममा यसका शाखा सञ्चालनमा छन् । आगामी दिनमा देशका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने योजना रहेको जनाइएको छ । वृक्षालय परिसरमा चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्रसँगै चिया संग्रहालयसमेत सञ्चालनमा छन् । यी संरचनाको स्वामित्व तथा व्यवस्थापन भने कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाकै रहेको बताइएको छ ।
कन्यामको प्रकृति, इलामको चिया, कृषि उत्पादन र नेपाली आतिथ्यलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा पुर्याउन स्थानीय सरकार, समुदाय, व्यवसायी, पर्यटन क्षेत्र र सञ्चारमाध्यमसँग सहकार्य आवश्यक रहेको सञ्चालक पक्षले जनाएको छ ।श्रेष्ठका अनुसार सरसफाइ, सत्कार र स्वादलाई वृक्षालयको मुख्य आधार बनाइएको छ । कन्यामलाई घुम्ने ठाउँ मात्र नभई पर्यटकले छुट्टै अनुभव लिएर फर्किने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको उनले बताए ।



















