विराटनगरमा एक जना भारतीय नागरिक मृत फेला

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २५, बिहीबार १०:४१

विराटनगर । विराटनगरको एक होटलमा आज (बिहीबार) एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।

विराटनगरको होटल इष्टर्न स्टार होटलमा भारत विहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत अवस्थामा फेला परेको मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार मृतक साह उनका साथीहरुसँग आएको र बुधबार साँझमा कक्टेल डिनेर (मदिरासहित रातिको खाना)गरेर कोठामा सुतेका थिए । बिहान सबै साथीहरु उठे पनि उनी नउठेपछि प्रहरीलाई खबर गरेको र तत्कालै प्रहरी टोली पुगेर हेर्दा साह ओछ्यानमै मृत भेटिएका डिएसपी जोशीले बताए ।

साह भारतीय कपडा कम्पनी सियारामका सेल्सम्यानेजरका रुपमा काम गर्दै आएका थिए । कपडा कम्पनीले सेल्सम्यानेजरहरुलाई ‘रिफ्रेसमेन्ट’का लागि २५ जनाको टोली विराटनगर ल्याएको खुलेको प्रहरीले जनाएको छ ।

कम्पनीका प्रतिनिधिसहित आएका सेल्सम्यानेजरहरुलाई खाने बस्ने व्यवस्था त्यही होटलमा गरिएको थियो । राति सबै जनाले मदिरासहित खानपिन र रमाइलो गरेर सुतेका थिए ।

साहले बढी मदिरा सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

मृत साहका आफन्तलाई खबर भइसकेको र उनीहरु आएपछि उनका बारे थप कुरा आउने बताउँदै, डिएसपी जोशीले भने, ‘उनमा पहिलेदेखि कुनै बिरामी थियाे वा थिएनन् भन्ने खुलेको छैन, परिवारका सदस्य आएपछि खुल्ने छ । घटनाको अनुसन्धान विभिन्न तवरबाट सुरु भइसकेको र आफन्त आएपछि थप कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमलगायत अन्य प्रक्रिया हुनेछ ।’

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.