६१ वर्ष कैद, १३ वर्षपछि पक्राउ

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २६, शुक्रबार १३:२३

कपिलवस्तु । ६१ वर्ष कैद सजाय तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न ५ वटा मुद्दामा दोषी ठहर गर्दै अदालतले भारी कैद सजायको फैसला गरेका कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ गुर्चीहवाका ५७ वर्षीय सोमई भनिने प्रकाश कहार पक्राउ परेका हुन् । उनलाई अदालतले दोषी ठहर गरेको १३ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

कहारलाई खुनडाँकासहित विभिन्न ५ वटा मुद्दामा अदालतले दोषी ठहर गरेको थियो । कपिलवस्तु प्रहरीका डीएसपी मोहनमणि अधिकारीका अनुसार अदालतले कहारलाई २०६८ सालमा दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको हो ।

अदालतले कहारलाई ३ वटा खुनडाँका, एउटा डाँका र एउटा चोरी मुद्दामा गरेर जम्मा ६१ वर्ष कैद हुने फैसला गरेको थियो । त्यस्तै, ३ लाख ५२ हजार ७ सय ७८ रुपैयाँ जरिवानाको फैसलासमेत अदालतबाट भएको थियो ।

अदालतले दोषी ठहर गरे पनि सजाय भुक्तान नगरिकन फरार रहेका उनलाई खोजी गर्ने क्रममा कृष्णनगर–१ बाट फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेर बुझाएपछि कहारलाई अदालतले सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

 

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.