
रौतहट । साथमा पेस्तोल बोकेर होटलमा बसिरहेका ३ जनामध्ये १ जनालाई सशस्त्र प्रहरीले आइतबार राति पक्राउ गरेको छ । भारतीय नागरिक पक्राउ परे पनि उनीसँगै रहेका २ जना फरार भएका छन् ।
नेपाल–भारत सीमानजिक रौतहटको ईशनाथ नगरपालिका– ४ लतमरीबाट २६ वर्षीय धनञ्जयकुमार झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी विक्रम होमागाईंले बताए । उनका अनुसार पक्राउ परेका झा भारत बिहारको पूर्वी चम्पारणका बासिन्दा हुन् ।
झाको साथबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र ४ राउण्ड गोली बरामद भएको होमागाईंले बताए । प्रहरीले बीआर ०५ बीडी १२२४ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
सशस्त्रका अनुसार ३ जना व्यक्तिले होटलमा बसेर खाजा खाएका थिए । त्यस क्रममा उनीहरुले शंकास्पद गतिविधि गरेको जानकारी राति ८ः३० बजेतिर सशस्त्र प्रहरीले पाएको थियो । त्यसलगत्तै सशस्त्रको टोली पुग्नसाथ खाजा खाँदै गरेका २ जना फरार भए ।
झालाई मात्रै पक्राउ परे। पक्राउ परेका झालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सशस्त्रले नेपाल प्रहरीको जिम्मा लगाउने छ ।
फरार भएकाको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतीय नागरिक हतियारसहित नेपाल प्रवेश गर्नुको कारण खुल्न बाँकी छ ।

























