
झापा । झापाको झापा गाउँपालिकाको पन्थापाडा र लसुना नाकाबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई महिला र दुई पुरूष सोमबार पक्राउ परेका हुन् । झापा गाउँपालिका–१ स्थित लसुना नाकाबाट दुई युवती पक्राउ परेका छन् । भारतबाट लिएर आएको ३ ग्राम ९५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
उनका अनुसार पाँचथर फिदिम नगरपालिका–४ की १९ वर्षीया रदिमा बर्देवा र १९ वर्षीया इन्दिरा लिम्बूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
त्यस्तै, झापा गाउँपालिका–५ पन्थपाडाबाट १० ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । भारतबाट मोटरसाइकलमा आउँदै गरेका कनकाई नगरपालिका–८ का २५ वर्षीय सुमन राजवंशी र अर्जुनधारा नगरपालिका–५ का ३० वर्षीय प्रवीण गिरीलाई पक्राउ गरिएको चन्दले बताए ।
उनीहरुले प्रयोग गरेको प्र १–०१–०१६ प ९००९ नम्बरको मोटरसाइकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलको पछाडि सवार राजवंशीले मलद्वारमा प्लास्टिकले पोका पारी लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ ।

























