लेखा सभापतिका पूर्वस्वकीयमाथि अनुसन्धान सकियो, प्रहरीले बुझायो मिसिल

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ९, बुधबार ०८:१३

विराटनगर । मोरङ प्रहरीले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलमाथिको अनुसन्धान सकेको छ ।

पक्राउ परेको १२ दिनमै अनुसन्धान टुंग्याएर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले अनिलविरुद्ध ठगी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन मंगलबार वकिल कार्यालयमा बुझाएको हो ।

उनीविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी जारी भएको थियो । पुस २५ गते पक्राउ परेका उनीमाथि प्रहरीले चाँडै अनुसन्धान सकेको छ । प्रहरीले बुझाएको मिसिलको अध्ययन भइरहेको सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रहरीले तयार पारेको मिसिल अध्ययन गरी अभियोगपत्र तयार पार्दै सरकारी वकिल कार्यालयले अनिललाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा ठगी मुद्दा चलाउने स्रोतले बतायो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा मिसिल बुझाइएको जानकारी दिए ।

‘अनुसन्धानका क्रममा दुवै पक्षसँग कुरा बुझियो । अनुसन्धान सकिएपछि ठगी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । थप प्रक्रिया उतैबाट अघि बढ्छ,’ उनले भने ।

मोरङको रंगेली नगरपालिका २ घर भइ काठमाडौंमा बस्दै आएका ४३ वर्षीय अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुन् । पार्टीको कोटामा एमबीबीएस भर्ना गरिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप उनीमाथि लागेको छ ।

एबीबीबीएसमा छोरीको नाम निकालिदिने आश्वानस दिएपछि पैसा बुझाएको बौआलालको भनाइ छ । तर, छोरीको नाम ननिस्किएपछि पैसा फिर्ता माग्दै उनी अनिलसँग पुगे । उल्टै आफूसँग जबरजस्ती ५० लाख रूपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालको दाबी छ ।

बौआलालले आफू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । तर, प्रहरीले दर्ता गर्न मानेन । हुलाकमार्फत जाहेरी पठाएर उनले उच्च अदालत विराटनगरमा पनि रिट दायर गरेका थिए । उच्च अदालतले अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । ठगी प्रकरणमा मुछिएपछि ऋषिकेशले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.