प्रधानमन्त्री संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ, त्यो गलत हो : शेखर कोइराला

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ९, बुधबार १२:२७

विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलान खोजिरहेको आरोप लगाएका छन् । ‘देश सरकारले चलाउने हो । तर, यहाँ संयन्त्रमार्फत प्रधानमन्त्रीले चलाउन खोजेजस्तो देखिन्छ,’ उनले भने ।

‘हामी ‘डेमोक्रेटिक सिस्टम’मा छौं । ‘डेमोक्रेटिक सिस्टम’मा संयन्त्रले देश चलाउने होइन, सरकारले चलाउने हो । कुरा बुझ्नु भयो ? संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्री । यो गलत हो । बिलकुल गलत हो,’ विराटनगरस्थित कोइराला निवासमा बुधबार बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले भने ।

नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन सरकार बनेपछि दुई दलले सरकार सञ्चालनका लागि भनेर संयुक्त संयन्त्र बनाएका छन् । प्रदेश तहमा पनि संयन्त्र छन् । ती संयन्त्रले सरकार सञ्चालनमा सहजीकरण गर्ने भनिएको छ । कोशीमा बनको संयन्त्रले केही दिनअघि सरकारलाई बजेट पुनरावलोकन गर्न निर्देशन दिएको थियो । तर, बजेट पुनरावलोकन नहुने जानकारी सरकारले दिइसकेको छ ।

दुई दलले वडा तहसम्म संयन्त्र बनाएर काम गर्ने सहमति गरेका छन् । डाक्टर कोइरालाले संयन्त्र बनाउने काम गलत भएको दाबी गरे । ‘२०५१ सालमा एमालेको सरकार थियो । त्यो बेला सचिवको कोठामा एक जना एमालेको आधिकारिक व्यक्ति बस्नु हुन्थ्यो । हामीजस्तो मान्छे जाँदाखेरी उहाँको के काम छ ? भन्दै सोध्नुहुन्थ्यो ।, फेरि संयन्त्रले त्यही गर्न खोजिरहेको छ,’ उनले भने ।

संयन्त्र कम्युनिस्ट मुलुकमा मात्रै हुने उनले बताए । ‘कम्युनिस्ट ‘कन्ट्री’हरुमा हुन्छ संयन्त्रहरु । ‘डेमोक्रेटिक कन्ट्री’मा त देश सरकारले चलाउने हो नि । देश सरकारले नै चलाउनुपर्छ,’ कोइरालाले भने ।

‘संवैधानिक प्रावधानको दुरुपयोग गरेर अध्यायदेश ल्याइयो’

डा. कोइरालाले संवैधानिक प्रावधानको दुरुपयोग गरेर सरकारले अध्यादेश ल्याएको बताएका छन् । देशै नचल्ने अवस्थामा मात्रै ल्याउनुपर्नेमा अध्यादेश ल्याउनसक्ने प्रावधानको दुरुपयोग गरिएको उनको भनाइ छ ।

‘अध्यादेश के हो भने संविधानमा जुन प्रावधान छ । त्यो एकदम देशै नचल्ने अवस्थामा मात्रै ल्याउनु पर्ने हो,’ उनले भने, ‘दुई ठूला दलको बलियो सरकार रहेका बेलामा समेत अध्यादेश ल्याइनु गलत हो । कांग्रेस र एमालेको बहुमत छ ।’

ऐन बनाउन बहुमतले पास गर्नुपर्ने र दुईतिहाइ नचाहिने भन्दै कोइरालाले सरकारको कदमप्रति असन्तुष्टि जनाए । अध्यादेशबाट देश चलाउनु निरंकुशताको ‘वान स्टेप’ भएको उनको टिप्पणी छ । ‘अब त १८ गते संसद बोलाइसकियो । त्यो आफ्नो ठाउँमा भयो । तर, अध्यायदेशबाट देश चलाउनु निरंकुशताको ‘वान स्टेप’ हो भन्ने चिन्ता लाग्छ । त्यो गर्नुहुन्न । त्यो गलत कुरा हो,’ कोइराला भन्छन् ।

उनले विषयवस्तु के आयो भन्ने भन्दा पनि कसरी आयो भन्ने कुराले अर्थ राख्ने बताए । ‘अहिले अध्यादेश ल्याउनु भयो । यसको भित्रको ‘कन्टेन्ट’हरु खराब त छैनन् । धेरै अध्यादेशहरु ठीकै छन् । राम्रै छ भन्छु म । तर, संसद बोलाएर गर्नुपर्थ्यो नि त,’ कोइरालाले भने ।

सरकारले पुस १४ गते ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ ल्याएको थियो । पुस २९ गते ४ वटा र माघ २ गते १ वटा अध्यादेश जारी गरिएको थियो ।

गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम लोकतान्त्रिक हुन नसक्ने भनेर विपक्षी दलहरूले समेत आलोचना गर्दै आएका छन् । यही बेला सत्तारुढ दल कांग्रेसकै नेता कोइरालाले पनि अध्यादेश ल्याउनसक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको बताएका हुन् ।

‘कांग्रेस र एमालेबाट मात्रै संविधान संशोधन सम्भव छैन’

नेता कोइरालाले नेपाली कांग्रेस र नेकपा (एमाले)ले चाहेर मात्रै संविधान संशोधन सम्भव नहुने बताएका छन् । संविधान संशोधनमा सबैलाई समेट्नुपर्ने उनको धारणा छ । ‘संविधान भन्नेबित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन । नेपाली कांग्रेस र एमालेले सुरु गर्ने कुरा होला । तर, माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ,’ उनले भने ।

उनले संविधान सबैलाई पाच्य हुनुपर्ने बताए । दुईतिहाइ पुर्‍याएर संशोधन गर्दिन्छौं भन्नु नै गलत भएको उनको भनाइ छ । ‘संविधान यस्तो ‘डकुमेन्ट’ हो, जो कि सबैलाई पाच्य हुनुपर्छ । अनिमात्रै हुन्छ । दुईतिहाइ बनाएर गर्दिन्छौं भन्नु गलत हुन्छ । कांग्रेस एमालेबीच अलिअलि छलफल भएको छ । तर, त्यतिले हुँदैन । यो सबैको माझामा जानुपर्छ । अरु दलहरुसित पनि छलफल गर्नुपर्छ,’ नेता कोइराला भन्छन् ।

उनले संविधान संशोधनका बारेमा नागरिकले यो के हो के भइरहेको छ भनेर बोलिरहेको पनि बताए । कांग्रेस र एमालेको बीचमा भएको सहमतिका आधारमा मात्रै संविधान संशोधन नहुने कोइरालाले बताए ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.