
विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नवीनकुमार कर्ण चयन भएका छन् । विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्णको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको हो ।
कर्ण यसअघि प्रेस सेन्टरको जिल्ला उपाध्यक्ष थिए । नयाँ समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दीप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा राकेश कर्ण, हुसेन शेख र राजेश राजवंशी तथा कोषाध्यक्ष प्रेम देवान चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा नम्रता न्यौपाने, एलिसा रायमाझी, मोहन ढकाल, माधव काफ्ले, सुरन्जन लिम्बू, जय कामत, अर्जुन लिम्बू, मर्जिना खातुन चयन भएका छन् । प्रदेश पार्षदमा हरि अधिकारी, देवराज तामाङ, पवनकुमार साह र मौसम लिम्बूलगायत रहेका छन् ।
लक्ष्मी फुयाँल स्मृति पत्रकारिता पुरस्कार मुडियारीलाई
सम्मेलनका अवसरमा सहिद लक्ष्मी फुयाँल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बावुराम मुडियारी पुरस्कृत भएका छन् । प्रेस सेन्टर मोरङको पाँचौं जिल्ला सम्मेलनको अवसर पारेर मुडियारीलाई १० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत भएका पत्रकार मुडियारी रेडियो नेपालमा कार्यरत छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङ, सचिव गणेश उप्रेती, मोरङ इन्चार्ज कूलबहादुर साम्बा (कुशल), प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतमलगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
यस्तै, प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्षसहित ५ जना पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्ष राजेन्द्र पौडेल, पूर्वअध्यक्षहरु अमृतकुमार महतो, विनोद घिमिरे, गणेश लम्साल र गोकुल पराजुलीलाई सम्मान गरिएको हा ।
तत्कालीन क्रान्तिकारी पत्रकार संघमा अध्यक्षको भूमिका निर्वाह गरेर प्रेस सेन्टर नेपाल मोरङको संगठन निर्माण, विकास र विस्तारमा योगदान पुर्याएको भन्दै पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो ।

























