विराटनगर । न्यायाधीश समाज नेपालले सर्वसाधारणमा न्यायपालिकाप्रति नै भ्रम र अनास्था फैलाउने गरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीबाट अवाञ्छित गतिविधि भएको ठहर गरेको छ ।
त्रिपाठीको उक्त गतिविधिप्रति न्यायाधीश समाज नेपालले खेद व्यक्त गरेको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसँग सम्बन्धित मुद्दामा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध त्रिपाठीले बहस गरेका थिए । त्रिपाठीले सहकारीपीडितको तर्फबाट बहस गरेका हुन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
बहस गरेर निस्किने क्रममा लामिछानेका समर्थकले वरिष्ठ अधिवक्ता त्रिपाठीलाई अदालत परिसरमै माघ २ गते हातपात गर्दै आक्रमणको प्रयास गरेका थिए । घटनापछि त्रिपाठीले मुद्दामा आदेश गर्ने न्यायाधीशबाट बदनियतपूर्वक कार्य भएको भनेर विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिएका थिए । लामिछानेलाई धरौटीमा छाडिएपछि उनले न्यायाधीशविरुद्ध यूट्युब च्यानलहरुमा अन्तर्वार्ता दिएका हुन् ।
सर्वसाधारणमा न्यायपालिकाप्रति नै भ्रम र अनास्था फैलाउने गरी अन्तर्वार्ता दिएको कुरा यूट्युब च्यानलहरुमा प्रसारण भएको भन्दै न्यायाधीश समाज नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजका महासचिव टेकनारायण कुँवरले बिहीबार विज्ञप्ति जारी गर्दै कुनै न्यायाधीश विशेषबाट कानुन बमोजिम न्यायिक प्रक्रिया अवलम्बन गरी भएको आदेश वा काम कारबाही कानुनविपरीत भएको भन्ने लागेमा सम्बन्धित निकायमा कानुन बमोजिमकै प्रक्रिया अवलम्बन गरी उपचार खोज्नुलाई स्वभाविक मान्न सकिने स्पष्ट पारेका छन् ।
‘तर, त्यसतर्फ नलागी वरिष्ठ अधिवक्ताजस्तो जिम्मेवार व्यक्तिले आफूले बहस गरे बमोजिमको परिणाम नआएको भन्ने आधारमा कानुन व्यवसायीको आचरणविपरीत हुने गरी आदेश गर्ने न्यायाधीश उपर नै बदनियतपूर्वक कार्य गरेको भनी सार्वजनिक सञ्चार माध्यममा अन्तरर्वाता दिएको देखियो,’ विज्ञप्तिमा भनिएको छ, ‘वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिकाप्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरुप्रति खेद व्यक्त गर्दछ।’
साथै, समाजले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक अक्रमणलाई निन्दनीय कार्य भनेर विरोध जनाएको छ । ‘२०८१ साल माघ २ गते काठमाण्डौं जिल्ला अदालतमा चलिरहेको ठगी गरी संगठित अपराध गरेको मुद्दामा थुनछेक बहस पश्चात अदालत हाता बाहिर वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमण तथा सो पश्चातको कृयाकलापका सम्बन्धमा यस समाजको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘न्याय सम्पादन प्रक्रियाको अभिन्न अंगको रुपमा रहेको नेपाल बार र त्यसका कुनै पनि सदस्यमाथि भौतिक आक्रमण गरिनु निन्दनीय कार्य हो।’
त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै समाजले त्यस्तो अवाञ्छित कार्यमा संलग्न रहेका व्यक्तिलाई आवश्यक कानुनी कारबाही गर्नसमेत माग गरेको छ । त्यतिबेला त्रिपाठीमाथि भएको आक्रमणको चौतर्फी विरोध एवं आलोचना भएको थियो । घटनामा संलग्न २ जना पक्राउ परिसकेका छन् ।