
विराटनगर । सत्तारुढ दल नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशन फागुनमा हुने भएको छ । विराटनगरमा सोमबार बसेको जिल्ला संगठन कमिटीको तेस्रो पूर्ण बैठकले आगामी अधिवेशनको मिति टुंगो लगाएको हो ।
बैठकले फागुन १७ देखि १९ गतेसम्म जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । एमाले मोरङको २०७८ साल पुसमा सम्पन्न नवौं अधिवेशनबाट ऋषिकेश पोखरेल अध्यक्ष बनेका थिए । संसदको सार्वजनिक लेखा समितिका सभापति बनेपछि पद छाडे ।
त्यसपछि पार्टीका तत्कालीन जिल्ला उपाध्यक्ष बाबुराम कार्कीको नेतृत्वमा गत जेठ १८ गते जिल्ला संगठन कमिटी बनेको थियो । तर, पार्टीको जिल्ला अधिवेशनको मिति तय हुन सकेको थिएन । पार्टीभित्रको आन्तरिक विवाद नै यसको मुख्य कारण रहेको नेताहरु बताउँछन् ।
पार्टीको विधानले तोकिदिएको अवधिमा संगठन कमिटीले समेत अधिवेशन गर्न सकेन । संगठन कमिटी बनेको ६ महिनामा अधिवेशन गराउनुपर्ने एमालेको विधानमा उल्लेख छ ।
कोशी प्रदेशमा १४ वटा जिल्ला छन् । मोरङबाहेक अन्य १३ वटाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।
























