पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी : विराटनगर आएर राजनीतिक भेटघाटमा व्यस्त

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १४, सोमबार २०:४४

विराटनगर । विराटनगर आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले होटल बिगमा सोमबार दिनभर नेकपा (एमाले)का कार्यकर्तासँग भेटघाट गरिन् ।

उनले पार्टीका नेता, महिला नेतृ, युवा तथा विद्यार्थीहरुसँग छुट्टाछुट्टै भेटघाट गरेकी हुन् । शैक्षिक क्षेत्रसँग सम्बन्धित विभिन्न सार्वजनिक कार्यक्रमका लागि भन्दै पूर्व आएकी उनी माघ २० गतेसम्म कोशी प्रदेशकै राजधानी विराटनगरमा बस्ने तय भएको छ । बसाइका क्रममा उनले हरेक दिन राजनीतिक भेटघाट गर्ने छिन् ।

दैनिक १–२ वटा कार्यक्रम छन् । बाँकी समय भेटघाटमै व्यस्त रहने उनीनिकट स्रोतले बतायो । स्रोतका अनुसार सक्रिय राजनीतिमा आउनलाई तल्लो तहको सल्लाह एवं सुझाव लिने योजना स्वरूप भेटघाट तथा छलफललाई बाक्लो बनाएकी छन् ।

भण्डारीसँग छलफलका लागि विराटनगर र अन्य क्षेत्रका एमाले नेता कार्यकर्तालाई निम्ता गरिएको छ । उनको राजनीतिक भेटघाट र व्यस्ततालाई अर्थपूर्ण रूपमा लिइएको छ । कतिपयले राजनीतिमा फर्किने भण्डारीको रणनीतिका रूपमा बुझ्न थालेका छन् ।

एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट रहेकाहरु उनलाई भेट्न होटल बिगमा पुगेका थिए । एमाले नेता विनोद ढकाललगायतका नेताहरुले भण्डारीलाई भेटेका हुन् । अरु कार्यकर्ताहरुसँग भेटघाटको चाँजोपाँजो नै ढकालले मिलाइरहेका छन् ।

एमाले सहसचिव सोमराज थापाका अनुसार पूर्वराष्ट्रपति भण्डारीले इटहरीको जनता स्कुलमा मंगलबार आयोजित कार्यक्रममा सहभागिता जनाउने छिन् । ‘माघ १९ गतेसम्म उहाँको कार्यक्रमको ‘सेड्युल’ छ,’ थापा भन्छन्, ‘समय मिल्यो भने त्यही दिन, नत्र २० गते फर्कनु हुन्छ ।’

एमाले स्रोतका अनुसार विद्या भण्डारीसँग स्थानीयस्तरमा भेटघाटको व्यवस्थापन नेता विनोद ढकालले गरेका छन् । ढकाल पछिल्लो समय एमालेभित्र ‘बाईपास’मा परिरहेका नेता हुन् । पार्टी अध्यक्ष ओलीको निर्देशन अटेर गरेका उनी एमालेको कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा घनश्याम खतिवडासँग पराजित भएका थिए ।

अधिवेशन अगाडि नै ओलीबाट टाढिएका ढकाल विद्यादेवी भण्डारीको टिममा छन् । उनी विराटनगर रहँदा भेटघाटको ‘सेड्युल’ बनाउन ढकालको सहयोग रहने छ ।

एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडा पूर्वराष्ट्रपति भण्डारी सहभागी हुने सार्वजनिक कार्यक्रमबाहेक अन्य राजनीतिक भेटघाटको विषयमा आफूलाई जानकारी नभएको बताउँछन् । ‘७ दिन उहाँ विराटनगरमा रहनु हुन्छ । इटहरीको जनता स्कुल, मनमोहन विश्वविद्यालय, मदन भण्डारी ट्रमा सेन्टर, मदन भण्डारी स्मृति प्रतिष्ठानलगायतको कार्यक्रम र अवलोकनका लागि पुग्नु हुनेछ । त्यासबाहेक सामान्य भेटघाट होला । राजनीतिक हिसाबको भेटघाटका बारेमा मलाई थाहा छैन,’ उनले भने ।

नेता कार्यकर्तासँग भेटघाट हुनु सामान्य भएको उल्लेख गर्दै खतिवडाले सक्रिय राजनीतिमा आउने तयारी रहेको विषयमा आफूलाई जानकारी नभएको बताए । तर, विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउने संकेत गरिन् । सक्रिय राजनीतिमा फर्किएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई शुभेच्छा व्यक्त गरिन् ।

उनले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा फर्कने बताइन् । तर, कुनै दलमा आबद्ध हुने निर्णयमा हालसम्म नपुगेको उनको भनाइ छ । ‘राष्ट्रपति पद गैरराजनीतिक होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु,’ उनले भनिन्, ‘राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेकी छु । शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेको छु ।’

एमालेको भावी अध्यक्षको भूमिकामा आउन चाहनुभएको हो ? भन्ने प्रश्नमा उनले भनिन्, ‘जहाँसम्म दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन । भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ । भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ । तर, अहिले छलफल भएको छैन ।’

उनले सक्रिय राजनीतिमा फर्किएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई शुभकामना व्यक्त गरिन् । ‘उहाँ युवा हुनुहुन्छ । अनुभव छ । राजनीति गरेर आउनु भएको हो,’ उनले भनिन्,‘ म राष्ट्रपति र उहाँ उपराष्ट्रपति भएर ७ वर्ष सहकार्य गरेको हो । खुसी नै लागेको छ । उहाँलाई मेरो शुभेच्छा छ ।’

उपराष्ट्रपतिलाई शुभेच्छा व्यक्त गरेकी भण्डारी शैक्षिक क्षेत्रका विभिन्न कार्यक्रमको मेसो मिलाएर सक्रिय राजनीतिको तयारीका लागि विराटनगर आएको कुरा बुझ्न गाह्रो छैन । मोरङ उनको गृहजिल्ला पनि हो ।

उनी विराटनगर बसेर महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस पढेकी थिइन् । एमालेको उपाध्यक्ष हुँदा भण्डारीको कार्यक्षेत्र तत्कालीन पूर्वाञ्चल (हालको कोशी प्रदेश) नै थियो । दुई कार्यकाल राष्ट्रपति बनेकी उनी अब एमालेको अध्यक्ष बन्नेगरी राजनीतिमा आउने तयारीमा छिन् ।

‘तत्काल व्यक्त नगरेपनि भेटघाटको उद्देश्य सक्रिय राजनीति नै हो,’ भण्डारीको समूहमा रहेका एमालेका एक नेताले भने, ‘समय क्रमसँगै सबै कुरा विस्तारै आउँछ ।’ एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीबाट हेपिएको समूह भण्डारीको खेमामा छन् । एमालेको नेतृत्वमा माधवकुमार नेपाल हुँदा मदन भण्डारी फाउण्डेशनमार्फत ओलीले आफ्नो गुटको विस्तार गरेका थिए ।

अहिले माधवकुमार नेपाल एमाले छाडेर एकीकृत समाजवादी पार्टीको नेतृत्वमा छन् । हिजो ओलीलाई फाउन्डेशनमार्फत गुट निर्माणमा सहयोग गरेकी भण्डारी अहिले सोही फाउन्डेशन र ओलीसँग असन्तुष्ट बनेका नेताहरुलाई भेला पारेर सक्रिय राजनीतिको गृहकार्य गरिरहेकी छन् ।

स्रोतका अनुसार भण्डारीले लामै समय विराटनगर बसेर सक्रिय राजनीतिको घोषणा गर्ने सम्भावना पनि छ । पार्टीभित्र ओलीबाट असन्तुष्ट बनेकाहरुको जमात ठूलो छ । असन्तुष्टलाई भेला पारेर भेटघाट एवं छलफल गर्नु नै सक्रिय राजनीतिको सन्देश भएको नेताहरु बताउँछन् ।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल अस्थिर राजनीति भएको मुलुकमा राष्ट्रपति सक्रिय राजनीतिमा आउनु अनौठो नभएको बताउँछन् । एमालेभित्र पेलिएका कार्यकर्ताको चाहना पनि पूर्वराष्ट्रपतिको सक्रिय राजनीति नै भएको उनीको विश्लेषण छ ।

‘मुलुकको राजनीतिको माग के छ ? त्यसमा पनि भर पर्छ । सही ढंगले मुलुकको राजनीति चलेको भए कसैले फर्केर हेर्दैन थिए । पूर्वराष्ट्रपति आफ्नो सम्मानित ठाउँमा बस्नुपर्छ भन्ने अर्थमै जान्थ्यो,’ उनले भने, ‘तर, मुलुकको परिस्थिति राम्रो छैन । हिजो राष्ट्रपति भएकै कारणले सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने कुरा व्यक्तिको आफ्नो मापदण्डको विषय हो ।’

आफ्नो सहभागिताले मुलुकको परिस्थितिमा केही परिवर्तन ल्याउन सक्छु भन्ने कुनै पात्रलाई लाग्छ भने राजनीतिमा आउनुलाई पहाडै खस्यो भन्ने अर्थमा बुझ्न नहुने पोखरेलको भनाइ छ । ‘जुन पार्टीबाट उहाँ (विद्यादेवी भण्डारी) राष्ट्रपति हुनुभयो, त्यो पार्टीमा निरंकुशता हाबी भएको देखिन्छ । एमालेका धेरै नेता कार्यकर्ता निस्सासिएर बसेका छन् । तिनलाई कतै छुटकारा पाउँछौं कि भन्ने पनि होला,’ उनी भन्छन् ।

एमाले पार्टीभित्रै परिस्थितिले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउने संकेत देखिएको पोखरेलको भनाइ छ । नैतिकताबाहेक पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने कुरा कतै उल्लेख नभएको बताए । ‘राजनीतिमा आउँदा राम्रो सन्देश नजाने भएकाले राष्ट्रपतिजस्तो सम्मानित पद पाइसकेको व्यक्तिले मौन बसेर नैतिकता प्रदर्शन गर्नुपर्छ भन्ने चैं होला,’ पोखरेल भन्छन्, ‘तर, राजनीतिमा आउने बाटो रोक्ने कुनै आधार र कारण भने देखिँदैन ।’

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.