
विराटनगर । आकर्षक कमाइको लोभ देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
पीडितले दिएको जाहेरीका आधारमा भारतीय नागरिकसहित ५ जनाको समूह पक्राउ परेको हो । भारतीय नागरिककै योजनामा ठगी गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार भारतको जोगवनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका–५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमित रायलाई पक्राउ गरिएको छ ।
एउटै परिवारका बाबु–छोरालाई विदेश पठाउने भनेर ६६ लाख बढी ठगेपछि प्रहरीले गिरोहलाई फेला पारेको हो । पक्राउ परेको गिरोहले वाट्सएप, टेलिग्राम, भाइबरसमेतका सामाजिक सञ्जालमा विज्ञापन गरेर युरोप, अमेरिका, कुबेत, दुबईसमेतका देश पठाउने भन्दै रकम ठगी गर्ने गरेको पाइएको डीएसपी जोशीको भनाइ छ ।
उनका अनुसार विराटनगर–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीलाई क्यानडा पठाइदिने भनेर विभिन्न समयमा अनलाइनमार्फत ६६ लाख ६७ हजार रूपैयाँ ठगी गरेको पाइएको छ । विदेशी मोबाइल नम्बरबाट खोलिएको वाट्सएप प्रयोग गरी ठगी गरेको जोशी बताउँछन् ।
भिसाका लागि भनेर आवश्यक कागजातसमेत पठाएर भ्रम एवं प्रलोभनमा पारी रकम ठगेको प्रहरीको भनाइ छ । रकम पठाउन विभिन्न व्यक्तिहरुको बैंक खाता प्रयोग गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरोहका ५ जनालाई माघ ८ गते पक्राउ गरेको हो । गिरोहविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी जोशीले बताए ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार पक्राउ परेकामध्ये ठगीमा भारतीय नागरिक केशव यादवको विशेष संलग्नता छ । उनी ठगीका मुख्य योजनाकार हुन् । यादवले नै पैसाको प्रलोभन देखाएर नेपाली युवाहरुलाई ई–सेवा, खल्तीजस्ता ‘डिजिटल वालेट’ तथा बैंक खाताहरु खोल्न लगाएको चिमरिया बताउँछन् ।
‘डिजिटल वालेट’ तथा बैंक खाताको ‘युजर एक्सेस’ र ‘पासवर्ड’ लिएर यादव आफूले कारोबार गर्ने गरेको उनले बताए । उनका अनुसार पक्राउ परेका अरु ४ जना नेपाली युवाहरु यादवले ठगीमा प्रयोग गरेका व्यक्तिहरु हुन् ।
एसपी चिमरिया पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने प्रवृत्ति बढेको बताउँछन् । सर्वसाधारणलाई विभिन्न प्रलोभन एवं भ्रममा पारेर ठगी गर्ने क्रम बढेको उल्लेख गर्दै उनले प्रविधिको प्रयोगमा ध्यान दिन जरुरी रहेको बताए ।
‘पछिल्लो समय सामाजिक सञ्जालमार्फत ठगी गर्ने क्रम बढेको छ । प्रविधिको प्रयोग गरेर ठगिएका उजुरीहरु प्रहरीमा आउने क्रम बढ्दो छ । यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता आफैं सचेत हुनुपर्छ । पछुताउनु र दुःख पाउनुभन्दा बेलैमा सावधानी अपनाउँदा ठगी वा कुनै समस्यामा पर्ने सम्भावना हुँदैन,’ एसपी चिमरियाले भने ।
अपरिचितले कुनै प्रलोभनमा पार्ने प्रयास गरेमा तत्काल प्रहरीमा जानकारी दिन र होसियारी अपनाउन सबैमा उनको आग्रह छ । अपरिचितलाई चाँडै विश्वास गर्न नहुने र आफैं सचेत रहनुपर्ने एसपी चिमरियाको भनाइ छ ।

























