
विराटनगर । सुनसरीको देवानजन्ज गाउँपालिका–३ बाट प्रहरीले ३९ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।
लागुऔषध लुकाएर राखिएको विशेष सूचनाका आधारमा मंगलबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले अर्विनकुमार यादवको घरमा छापा हानेको थियो । त्यस क्रममा खाल्डो खनेर ड्रमभित्र लुकाइ राखिएको साथै घरभित्र जेब्रा झोलामा राखिएको अवस्थामा ३९ किलो २ सय ९० ग्राम गाँजा बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
घरबाट गाँजा बरामद भएपछि अर्विनकी पत्नी ३५ वर्षीया सोनीकुमारी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी तिमल्सिनाले बताए ।
त्यस्तै, प्रहरीले धरान उपमहानगरपालिका–१५ का १८ वर्षीय उषण भुजेललाई पक्राउ गरेको छ । घरको कोठाभित्र झोलामा लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधि स्पास्पेन २ हजार ८० चक्की बरामद भएको थियो ।
घरबाट प्रतिबन्धित औषधि बरामद भएलगत्तै भुजेललाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























