विराटनगरमा विद्यार्थीबीच विवाद : इन्जिनियरिङ कलेजमा तोडफोड

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २०, आइतबार १९:४६

विराटनगर । विराटनगरस्थित स्कुल अफ इन्जिनियरिङ कलेजमा आज (आइतबार) दिउँसो विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

प्रहरीका अनुसार विद्यार्थीको दुई समूहबीच भएको विवादलाई क्याम्पस प्रशासनले साम्य पार्ने प्रयास गरिरहँदा एक्कासि दिउँसो ४ बजेतिर कलेजमा तोडफोड भएको हो । विराटनगर महानगरपालिका–३ मा रहेको कलेजमा सरस्वती पूजाको विषयलाई लिएर विद्यार्थीको दुई समूहबीच विवाद भएको पाइएको प्रहरीले जनाएको छ ।

सरस्वती पूजा सोमबार हो । विद्यार्थीबीच विवाद भएपछि क्याम्पस प्रमुख तेजराज गिरीले आफ्नै कार्यकक्षमा लगेर सम्झाइबुझाइ गर्न खोजेका थिए । क्याम्पस प्रमुख गिरीले सम्झाउँदै गर्दा एक्कासि उत्तेजित भएर विद्यार्थी तोडफोडमा उत्रिएका हुन् ।

तोडफोडबाट गिरीको कार्यकक्षमा रहेका फर्निचर, कम्प्युटरलगायतका सामानमा क्षति पुगेको छ । तोडफोडपछि करिब १५÷२० जना विद्यार्थीको समूह फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार फरार रहेकाको खोजी भइरहेको छ । तोडफोडमा संलग्नहरु कलेजमै अध्ययनरत विद्यार्थी हुन् । तोडफोडबाट ३ लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.