विराटनगर । सुन्दा अचम्म लाग्न सक्छ, झापाको शिवसताक्षी नगरपालिका– ७ का ज्ञानचन्द राजवंशी बोटबिरुवाको भाषा बुझ्छन्, बोटबिरुवाको आवश्यकता बुझेर काम गर्छन् ।
ज्ञानचन्दले बोटबिरुवाको भाषा बुझेर तरकारी खेती गर्न थालेको ७ वर्ष भयो । ‘बिरुवा विरुवा बोल्छ भन्दा कसले पत्याउँछ ? तर, हामीसँग बोल्छ,’ करेलोका फल देखाउँदै उनले भने, ‘यसले बजार जान्छु भन्दैछ । झोक्रिएकाले ‘मेडिसिन’ खोजिरहेको हुन्छ, कुनैले पानी माग्छ ।’
कनकाई नदीको किनारमा बोटबिरुवासँग गफ गर्दै उनी खेती गर्छन् । तरकारी खेती सुरु गरेपछि उनको दैनिकी पनि फेरिएको छ । परिवारको आर्थिक अवस्था सुधार भएको छ ।
पहिले धानखेती गर्ने ज्ञानचन्दको बारीमा सिजन अनुसारको तरकारी उत्पादन हुन्छ । बिहान बेलुका भान्साको आवश्यकता भएका कारण उत्पादन भएको तरकारीले बजार पाउन मुस्किल छैन । उनको बारीमा उत्पादन भएको तरकारी दमक बजारमा बिक्री हुन्छ ।
ज्ञानचन्दलाई तरकारी खेती आनन्दको पेसा लाग्छ । उनी हरेक दिन खेतीमा व्यस्त हुन्छन् । तरकारी खेतीमा समय बितेको उनलाई पत्तै हुँदैन । यो पेसामा उनको परिवारका ४ जना नियमित खटिएका छन् । आवश्यकता अनुसार हरेक दिन ३–४ जनालाई रोजगारी दिन्छन् ।
तरकारी खेतीबाट उनले खर्च कटाएर वार्षिक ५ लाख हाराहारी आम्दानी गर्छन् । ‘पहिले सानो थियो । त्यसपछि बढाउँदै लगे,’ उनले भने, ‘हाम्रोमा सिजन अनुसारको तरकारी हुन्छ ।’
साढे ३ बिघामा तरकारी खेती गर्नका लागि ज्ञानचन्दलाई जीवन विकास लघुवित्त वित्तिय संस्थाले सहयोग गरेको छ । तरकारी खेतीबाट भएको आम्दानीले उनले जग्गा जोडेका छन् । घर पनि बनाएका छन् ।
कृषिमा लागेका उनलाई जागिरको मोह छैन । पढाइ सकेका छोरालाई पनि कृषिमै लगाएका छन् । कृषि व्यवसायलाई विस्तार गर्दै लैजाने उनको योजना छ । ‘कृषि भनेको इज्जतिलो पेसा हो,’ उनी भन्छन्, जागिर र विदेश भन्दा पनि कृषि नै रोजेको छु ।’