विराटनगर । प्रेस चौतारी मोरङले विराटनगरमा मंगलबार ३ जना पत्रकारलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा हरिहर नेपाल, डा. डिल्ली पोखरेल र डा. धर्मराज ढकाल रहेका छन् । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
प्रेस चौतारी मोरङले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले तीनै जनालाई सम्मान गरेका हुन् ।
चौतारी मोरङले स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारबाट नेपाल टाइम्स अनलाइनका पत्रकार हरिहर नेपाल सम्मानित भएका छन् । चौतारी मोरङ अध्यक्ष चीना थापाका अनुसार पुरस्कारको राशि १५ हजार रुपैयाँ छ ।
त्यस्तै, प्रेस चौतारीमा आबद्ध आग्रज पत्रकार पोखरेल र ढकाललाई पनि सम्मान गरिएको छ । दुवै जनाले विद्यावारिधि गरेका छन् । पोखरेल चौतारी मोरङका संस्थापक सचिव र ढकाल पूर्वसचिव हुन् ।
पोखरेलले नेपालको आर्थिक विकासमा कृषि सहकारी संस्थाहरुको भूमिका विषयमा विद्यावारिध (पीएचडी) र ढकालले नेपाली कटन उद्योगहरुमा कार्यरत मजदुरहरुको उत्प्रेरणा र कार्य सम्पादनको अवस्था विषयमा विद्यावारिधि गरेका छन् ।