
जनकपुरधाम । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेसम्म बाम एकताको सम्भावना नरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । जनकपुर विमानस्थलमा पुगेर उनले यस्तो बताएका हुन् ।
‘केपीजी नेतृत्वमा रहँदासम्म नेपालमा कम्युनिस्ट एकता, बामपन्थी एकता हुने स्थिति छैन,’ उनले भने,‘ हामी पनि कहिले एमाले, कहिले कांग्रेससँग मिल्दा उनीहरुको अलिअलि उनीहरुको कल्चर सर्याजस्तो भा’छ ।’
प्रचण्डले तत्काल आफूहरुको सरकार बनाउनेतर्फ ध्यान नभएकाले कांग्रेससँग पनि सहकार्य नहुने बताए । उनले आफूहरु अहिले पार्टी सुदृढीकरणमै ध्यान दिइरहेकोले जनतातर्फ नै फर्किएको बताए ।
अहिले सरकारमा हाम्रो ध्यान छैन । हामी जनतामा जाने, जागरण ल्याउने, नयाँ किसिमले पार्टी विस्तार गर्ने, सुदृढीकरण गर्ने अभियानमा छौं । यो अभियान हाम्रो लागि जरुरी भएको छ’, प्रचण्डले भने, ‘देशको लागि जरुरी भएको छ । हाम्रो उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको निम्ति अझ मधेशी जनताका निम्ति अझ बढी आवश्यकता भएको छ ।’
























