
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अरुभन्दा ज्यादा नै खुसी छु कि ज्यादा उत्ताउलो ? भनेर आफैंलाई प्रश्न गरेका छन् ।
माओवादी द्वन्द्वकालका बेला झापाको बिर्तामोडमा फागु (होली) खेलेर साथीहरुसँग रमाइलो गर्दाको पुरानो फोटो समाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले आफैंमाथि प्रश्न तेर्स्याएका हुन् । उक्त फोटो बिर्तामोडको कुनै पसलमा झुण्ड्याएर राखिएको लिङ्देन आफैंले उल्लेख गरेका छन् ।
तर, उक्त फोटो पोस्ट गर्दै लिङ्देनले साथीहरुसँग फागु खेलेर रमाइलो गरेको कुरा मात्रै व्यक्त गरेनन्, सशस्त्र द्वन्द्वमा माओवादीका कारण गाउँबाट सर्वसाधारणले विस्थापित हुनु परेको परिस्थितिलाई समेत सम्झिएका छन् । उनले माओवादी द्वन्द्वका कारण लामो समय गाउँबाट विस्थापित भएर बिर्तामोड बस्नु परेको भनेका छन् ।

फेसबुकमा लेखिएको कुराबाटै उनी माओवादीका कारण विस्थापित भएका थिए भनेर प्रष्ट हुन्छ । लिङ्देनले पोस्ट गरेको फोटोमा अरु साथीहरु भन्दा उनी अलि बढी नै हाँसेको देखिन्छ ।
अरु पनि हाँसेका छन् । तर, लिङ्देनको हाँसो अलि बढी नै छ । फोटोमा २३ जना देखिन्छन् । फोटोमा देखिएकालाई ‘सबै एक से एक गरिखाएका बेजोड साथी’हरु भनेर लिङ्देनले भनेका छन् ।
उनले लेखेका छन्, ‘बिर्तामोडको कुनै पसलमा झुण्ड्याएर राखिएको म समेत भएको पुरानो तस्बिर मेरा एकजना भाइले आफ्नो मोबाइलमा कैद गरेर मलाई पठाए । तस्बिर यसो नियालेर हेरेँ, माओवादी द्वन्द्वका कारण लामो समय गाउँबाट विस्थापित भएर बिर्तामोड बस्दाको समय फागु पर्व मनाउँदाको रहेछ। सबै एक से एक गरिखाएका बेजोड साथीहरुका बीच म चाँहि अलिक बेसीनै हाँसेको रहेछु । मनमा प्रश्न उठिरहेको छ, अरुभन्दा ज्यादा खुसी छु कि ज्यादा उत्ताउलो ?’

























