
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनका प्रधानमन्त्रीलाई संवादका लागि आमन्त्रण गरेका छन् ।
जेठको पहिलो साता काठमाडौंमा आयोजना गर्न लागेको सगरमाथा संवादका लागि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका प्रधानमन्त्री ली छ्याङलाई आमन्त्रण गरेका हुन् ।
दुवै देशका प्रधानमन्त्रीलाई बोलाएर हिमालय क्षेत्रले भोगिरहेको जलवायु संकट समाधानमा औद्योगिक शक्ति राष्ट्रको साझा मत बनाउन कोसिस गर्ने छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार जेठ २ देखि ४ गतेसम्म हुने संवादका लागि दुवै देशका प्रधानमन्त्री आउने लगभग पक्कापक्की छ । ५ वर्षअघि कोभिड १९ महामारीका कारण रोकिएको सगरमाथा संवाद सरकारले अघि बढाउन लागेको हो ।
यसअघि चैतका लागि तयारी थालिएको संवाद तयारी पर्याप्त नपुगेका कारण जेठमा सारिएको हो ।
जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पर्ने देशहरूको जीवन, संस्कृति सभ्यतासमेतलाई गम्भीर क्षति पारिरहेको सन्दर्भमा भारत र चीनसँग नेपालले प्रभावकारी संवादको पहल लिनुपर्ने ठान्दै सरकारले दुई प्रधानमन्त्रीलाई नै सहभागी गराउन चाहेको बताइएको छ ।
यसपल्टको संवादमा जलवायु न्यायको मुद्दालाई प्रमुखतासाथ स्थापित गर्ने प्रयास हुनेछ । सरकारले दुवै देशका प्रधानमन्त्रीसँग एकैसाथ छलफल गर्न लागेको हो ।
























