गोपाल पराजुली दोषी ठहर : कोशी प्रदेशसभामा समेत भएको हुनसक्छ भ्रष्टाचार

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन १, बिहीबार १७:३२

विराटनगर । कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भए ।

तत्कालीन जिल्ला विकास समिति काठमाडौंको स्थानीय विकास अधिकारी हुँदा पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएको मुद्दामा उनी भ्रष्टाचारी ठहर भएका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले बुधबार मुद्दाको फैसला गर्दै पराजुलीलाई ६ वर्ष कैद सजाय सुनाएको हो

Advertisement

सर्वोच्चले ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै त्यसको दोब्बर १ करोड २२ लाख जरिबाना हुने फैसला गरेको छ । सोही मुद्दामा नेकपा (एमाले)का नेता निर्मल कुइँकेल र पराजुलीसहित ९ जना दोषी ठहर भएका छन् ।

प्रमुख जिल्ला अधिकारी हुँदै कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव बनेका पराजुली राजीनामा दिएर २०७६ वैशाख १२ गते प्रदेशसभाको सचिव नियुक्त भएका थिए । उनी २०८१ वैशाख ९ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि पुनः प्रदेशसभाको सचिव नियुक्त भए । अदालतको फैसलासँगै पराजुली स्वतः पदमुक्त भएका छन् ।

तर, उनी सचिव भएका बेला कोशी प्रदेशसभा सचिवालयमा समेत भ्रष्टाचार भएको आशंका गरिएको छ । भ्रमणका नाममा कर्मचारीले भ्रष्टाचार गरेको हुनसक्ने सरोकारवाला बताउँछन् ।

कर्मचारीले आर्थिक वर्ष २०७९–०८० मा गरेको भ्रमणसँग सम्बन्धित विवरण २०८० साल साउन ८ गते सूचनाको हक प्रयोग गरेर प्रदेशसभा सचिवालयसँग माग गरिएको थियो । सचिवालयका सूचना अधिकारी निरोज ढकाललाई सम्बोधन गरेर सूचना माग गरिएको निवेदन प्रदेशसभा सचिवालयले साउन ९ गते दर्ता गर्यो ।

तर, सूचना उपलब्ध गराइएन । त्यसपछि कार्यालय प्रमुख (प्रदेशसभा सचिव गोपाल पराजुली)लाई सम्बोधन गरेर साउन २१ गते उजुरी गरिएको थियो । उक्त उजुरीको समेत सुनुवाइ भएन । अर्थात, पराजुली र ढकालको मिलेमतोमा सूचना लुकाइयो ।

हालसम्म सूचना प्राप्त हुन सकेको छैन । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ को सूचना प्राप्त गर्ने कार्यविधि बमोजिम दिनुपर्ने सूचना उपलब्ध नगराएर प्रदेशसभा सचिवालयले प्रचलित कानुनको बर्खिलाप गरेको हो ।

सचिवालयका कर्मचारीले आर्थिक वर्ष २०७९–०८० मा गरेको भ्रमणको विवरण, भ्रमणमा जाने कर्मचारीको नामावली, भ्रमणको मिति, स्थान र भ्रमण गर्न लागेको दिन तथा कर्मचारीले भ्रमणमा गरेको खर्चको विवरण सीडीमा माग परिएको थियो । साथै, भ्रमण आदेश, अभिलेख खाता, प्रतिवेदन, बिल तथा अन्तरप्रदेश भ्रमणको खर्च विवरण, कर्मचारीलाई गरिएको भुक्तानी, गाडी, इन्धन एवं होटलवासमा लागेको खर्चको विवरणसँग सम्बन्धित प्रमाणित प्रतिलिपि माग गरिएको थियो ।

नागरिकले सबै सार्वजनिक निकायमा भएका सार्वजनिक महत्वको विषयका सूचनाको प्रमाणित प्रतिलिपि पाउने अधिकार सूचनाको हकभित्र समाहित छ । तर, प्रदेशसभा सचिवालयले भने माग गरिएको सूचना नै लुकायो । जसका कारण भ्रमणका नाममा भ्रष्टाचार भएको हुनसक्ने सरोकारवाला बताउँछन् ।

सचिवालयका सूचना अधिकारी निरोज ढकाल सीडीमा सूचना उपलब्ध गराउन गाह्रो भएको बताउँछन् । कतै भ्रष्टाचार भएकाले सूचना लुकाइएको त हैन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यस्तो हैन । भ्रष्टाचार भए नभएको खोजी गर्ने अधिकारी सबै सचेत नागरिकको हुन्छ ।’ ढकालले प्रदेशसभा सचिवालयमै आएर छलफल गरी आवश्यक सूचना लिन सकिने बताए ।

तर, यसअघि सूचना माग गरेर पटकपटक प्रदेशसभा सचिवालय पुग्दा पनि सूचना दिन अस्वीकार गरिएको थियो । कर्मचारीकै सक्रियतामा भ्रमणसँग सम्बन्धित विवरण लुकाइयो । सार्वजनिक सरोकारसँग जोडिएको विषयको विवरण लुकाउँदै प्रदेशसभा आफ्नो कानुनी दायित्वबाट पन्छिएको थियो ।

भ्रमणका नाममा मनमौजी खर्च गरी अनियमितता गरेकै कारण विवरण लुकाएर नागरिकप्रति जवाफदेही हुनबाट कर्मचारी पछि हटेको हुनसक्ने सूचनाको हकका अभियन्ता राजु श्रेष्ठ बताउँछन् । सूचना लुकाएर कानुनी व्यवस्थालाई चुनौती दिनु भ्रष्टाचार नै भएको उनको भनाइ छ ।

उनका अनुसार सूचना लुकाउने मनसायले अनेक बखेडा निकालेर कर्मचारीले अल्झाउने काम गर्छन् । ‘सूचना बाहिर आउँदा अनियमितता सार्वजनिक हुने डरले प्रचलित कानुनको अपव्याख्या गर्दै भ्रमणसँग सम्बन्धित महत्वपूर्ण विवरणलाई ‘गुपचुप’ राखिएको पाइयो,’ श्रेष्ठ भन्छन्, ‘त्यसले प्रदेशसभाबाट भ्रमणका नाममा भ्रष्टाचार भएको छ भन्ने प्रष्ट हुन्छ ।’

सरोकारवालाहरुका अनुसार सूचना लुकाइएका कारण भ्रमण र काज भनेर काम नै नगरी रकम लिएको हुनसक्छ । दैनिक भ्रमणभत्ता, होटलवास, सवारीसाधन र इन्धनका नाममा दोहोरो तथा अधिक सुविधा लिएको हुनसक्ने देखिन्छ ।

भ्रमणको विवरण ‘गुपचुप’ राख्नु र सचिव पराजुली नै भ्रष्टाचारी ठहर हुनुले प्रदेशसभा सचिवालयमा पनि ठूलो भ्रष्टाचार भएको आशंकालाई बल पुगेको सरोकारवाला बताउँछन् । व्यक्तिगत कामकाज, घुमघाम वा घरमा जाँदा काज लिएर दैनिक तथा भ्रमण खर्च लिने गरिएको हुनसक्ने अभियन्ता श्रेष्ठ बताउँछन् । उनका अनुसार वित्तीय अनुशासनविपरीतका कार्यले सार्वजनिक खर्चमा मितव्ययीता अपनाउने सरकारको नीतिलाई चुनौती दिइरहेको छ ।

सूचना माग गर्दै निवेदन परेको १५ दिनभित्रमा सूचना उपलब्ध गराउनुपर्ने नियम छ । यसमा सूचना अधिकारी बढी जिम्मेवार हुन्छन् । सूचना नपाइएमा कार्यालय प्रमुखलाई सम्बोधन गरेर उजुरी गर्नसक्ने व्यवस्था छ । उजुरीको सम्बोधन ७ दिनभित्रमा हुनुपर्छ ।

सम्बोधन नभएमा, तथ्यलाई तोडमोड गरिएमा, पूर्ण सूचना नदिए वा सूचना लुकाएमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्न पाउने व्यवस्था छ । आयोगले कानुनको परिधिभित्र रहेर सूचना उपलब्ध गराउन दिएको निर्देशन पालना नगरेमा सार्वजनिक निकायका पदाधिकारीलाई ऐनको दफा ३२ अनुसार कारबाही हुन्छ ।

सार्वजनिक निकायको प्रमुख वा सूचना अधिकारीले बदनियतपूर्वक सूचना दिन इन्कार गरेमा, आंशिक रुपमा वा गलत सूचना दिएमा वा सूचना नष्ट गरेमा १ हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना र विभागीय कारबाही हुने व्यवस्था छ ।

सार्वजनिक निकायको प्रमुख वा सूचना अधिकारीले ऐनमा उल्लिखित समयभित्र सूचना नदिएमा जति दिन ढिलाई गरेको हो प्रति दिन २ सय रुपैयाँको दरले जरिवाना हुने व्यवस्था छ । सूचना आयोगका आदेश तथा निर्णयहरुको पालना नगर्ने व्यक्तिलाई आयोगले १० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्छ । जरिवाना सम्बन्धित अधिकारीले आफ्नो तलब वा व्यक्तिगत सम्पत्तिबाट तिर्नुपर्ने हुन्छ ।

सार्वजनिक निकायमा पद धारण गरेर बसेकाहरुले सार्वभौम नागरिकप्रति जवाफदेही हुन पनि सूचना उपलब्ध गराउनै पर्ने अभियन्ता श्रेष्ठको भनाइ छ । यो वा त्यो बहानामा सूचना लुकाउने र नदिनेलाई कारबाही हुने बताउँदै उनले सूचना नदिनु पनि भ्रष्टाचार नै भएको जनाए ।

भ्रष्टाचारका कारण देशको अवस्था जर्जर बनेको उनले बताए । श्रेष्ठले पराजुलीका पालामा प्रदेशसभामा समेत भ्रष्टाचार भएको हुनसक्ने बताउँदै तत्काल छानबिन एवं अनुसन्धान गरिनुपर्ने बताए ।

अभियन्ता श्रेष्ठकै सक्रियता र पहलमा पूर्वाञ्चल विश्वविद्यालयका परीक्षार्थीले नतिजा प्रकाशनपछि सूचनाको हक प्रयोग गरेर आफ्नो उत्तर पुस्तिकाको प्रमाणित प्रतिलिपि हेर्न तथा लिन पाउने वातावरण बनेको थियो ।

भ्रष्टाचार मुद्दामा काेशी प्रदेशसभाका सचिव गोपाल पराजुली दोषी ठहर

तपाइको प्रतिक्रिया
गृहमन्त्रीले संसद्लाई भोटेकोशी बाढीको जानकारी गराउने, प्रधानमन्त्रीको प्रश्नोत्तर स्थगित
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न डा. शशांक कोइरालाको आग्रह
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न डा. शशांक कोइरालाको आग्रह
४१ सुरक्षाकर्मी र १४ जना भन्सार कर्मचारी सम्पर्कविहीन
उद्धार एवं राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीको अपिल
कांग्रेसको आकस्मिक बैठक
जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु
जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु
भोटेकोशीको बाढीले अवस्था भयावह (तस्बिरहरु)
अहिलेसम्म कति जनाको भयो उद्धार ?, बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरले अनुमति लिन नपर्ने
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
भोटेकोशीको बाढीले निम्त्यायो महासंकट : सरकारलाई सहयोग गरौं, उद्धार र राहतमा जुटौं
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×