
काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहिवसल्लमको १५०१औँ जन्मजयन्ती आज (बुधबार) नेपालसहित विश्वभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।
मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई धर्मका सन्देष्टा तथा मार्गदर्शकका रूपमा सम्मान गर्दै उनको जन्मजयन्तीका अवसरमा विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गर्ने गरेका छन् । यस अवसरमा काठमाडौंलगायत देशका विभिन्न स्थानमा ¥याली, सभा, धार्मिक प्रवचन तथा सामूहिक कार्यक्रम हुँदैछन् ।
इस्लामिक मान्यताअनुसार पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । उनले पछि मदिनामा पुगेर इस्लाम धर्मको प्रचारप्रसार गरेका थिए । मुस्लिम समुदायमा उनका उपदेश, शिक्षासहित मानवता, शान्ति, सदाचार र सामाजिक न्यायका सन्देशलाई विशेष महत्वका साथ स्मरण गर्ने परम्परा छ ।
मुस्लिम धर्मावलम्बीका लागि मक्का र मदिना विश्वकै प्रमुख पवित्र धार्मिक स्थल मानिन्छन् । इस्लाम धर्मको प्रमुख धार्मिक ग्रन्थ कुरान पैगम्बर मोहम्मदमाथि अवतरित भएको मुस्लिम समुदायको विश्वास छ । जीवनमा कम्तीमा एकपटक मक्का पुगेर हज गर्ने आकांक्षा मुस्लिम धर्मावलम्बीमा रहने गर्दछ ।
पैगम्बर मोहम्मदको जन्मजयन्तीका अवसरमा काठमाडौंका नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत विभिन्न मस्जिद तथा धार्मिक स्थलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा धर्मगुरु तथा मुस्लिम समुदायका अगुवाले पैगम्बर मोहम्मदका शिक्षा, योगदान र मानवतामुखी सन्देशबारे चर्चा गर्नेछन् ।
जन्मजयन्तीलाई मुस्लिम समुदायले धार्मिक आस्था र सामाजिक सद्भाव अभिवृद्धिको अवसरका रूपमा समेत लिने गरेका छन् । धार्मिक आस्थाको सम्मान गर्दै सामाजिक र धार्मिक सद्भावका लागि विभिन्न समुदाय एकजुट हुनुपर्ने कुरामा सबैको जोड छ ।



















