
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले उत्तरी रसुवामा ठूलो क्षति पुर्याएको छ । टिमुरे, रसुवागढी र स्याफ्रुबेसी क्षेत्रमा सडक, पुल, बजार तथा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ ।
मानवीय क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि केही व्यक्ति बेपत्ता भएको बताइएको छ । नुवाकोटमा पनि ठूलो क्षति पुगेको छ ।

रसुवामा ठूलो वर्षा नभएको अवस्थामा भोटेकोशीमा एक्कासि बाढी आएको हो । प्रारम्भिक रूपमा तिब्बततर्फ हिमताल फुटेर आएको बाढी हुनसक्ने अनुमान गरिएको छ । बाढीका कारण टिमुरे बजारका संरचना, सडक तथा पुलमा क्षति पुगेको छ भने रसुवागढी जलविद्युत् आयोजनासहित भोटेकोशी करिडोरका जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन् ।
बाढीपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खोज तथा उद्धारमा परिचालन गरिएको छ । नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ हेलिकोप्टर उद्धारमा परिचालन गरिएको छ । सेनाका अनुसार स्याफ्रुबेसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ जना गरी हालसम्म १२ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएका घाइतेको धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । त्रिशूली अस्पताल र धादिङका अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकसहितको टोली औषधि लिएर प्रभावित क्षेत्रतर्फ गएको छ । काठमाडौंका वीर अस्पताल, शिक्षण अस्पताल, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र पाटन अस्पतालका आकस्मिक कक्षलाई पनि सम्भावित बिरामीको चापलाई ध्यानमा राख्दै उच्च सतर्क अवस्थामा राखिएको छ ।

बाढीको बहाव त्रिशूली नदी हुँदै तल्लो क्षेत्रमा बढ्दै गएपछि धादिङतर्फ पनि जोखिम बढेको छ । रसुवाबाट आएको बाढीले पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको फुर्केखोला पुलसमेत बगाएको छ । गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार राजमार्गका विभिन्न ठाउँमा पानीको सतह पुगेको छ र धादिङ क्षेत्रमा बहाव बढिरहेको छ । केही व्यक्ति फसेको जानकारीसमेत आएको छ ।
यसैबीच गोसाईंकुण्ड हिँडेको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका–१ सिम्मुटारमा बाढीका कारण फसेको छ । उनीहरू सवार गाडी बाढीले बगाए पनि टोली सुरक्षित स्थानमा पुगेको बताइएको छ । टोलीसँग सम्पर्क कमजोर भएपछि उद्धारका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकोप्टर परिचालनसँगै स्वास्थ्य टोली पनि सक्रिय भएको छ । नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा दिइरहेको छ ।
सरकारले उद्धार, राहत र खोजी कार्यलाई प्राथमिकता दिँदै आवश्यक स्रोत साधन र बजेट व्यवस्थापन गर्ने जनाएको छ । अर्थ मन्त्रालयले बाढी प्रभावित चार जिल्लामा उद्धार तथा समन्वय सहज बनाउन नेपाल टेलिकमको फोन र डेटा सेवा निःशुल्क गर्ने व्यवस्था मिलाएको छ । राहत, उद्धार तथा खोजीमा प्रयोग हुने निजी हेलिकोप्टरलाई अनुमति नचाहिने व्यवस्था पनि गरिएको छ ।
माथिल्लो क्षेत्रमा बाढीको सतह घट्दै गएको प्रारम्भिक जानकारी आए पनि त्रिशूलीको तल्लो तटीय क्षेत्रमा जोखिम कायमै छ । प्रशासनले भोटेकोशी र त्रिशूली नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदीको बहावनजिक नजान आग्रह गरेको छ । खोज, उद्धार, राहत र क्षतिको प्रारम्भिक मूल्यांकन एकसाथ अघि बढाइएको छ ।






























