
विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको जरा केन्द्रित अभियानले जनतासँगको सम्बन्ध सुधार गर्ने विश्वास लिएका छन् ।
एमाले विराटनगर महानगर कमिटिले शनिबार आयोजना गरेको जरा केन्द्रित अभियानको उद्घाटन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनतासँग टुटेको सम्बन्धलाई अभियानले सुमधुर बनाउने बताए । जनतासँग सम्बन्ध सुधारकै लागि पार्टीले अभियान चलाएको उनको भनाइ छ ।
नेता पोखरेलले जनतामाझ गएर बुझाउन नसकेका कारण एमाले सरकारमा भएका बेला गरेका राम्रा काम स्थापित नभइरहेको उल्लेख गरे । ‘एमाले सरकारमा हुँदा धेरै काम भएका छन् । अहिले सरकारले राम्रा काम गरिरहेको छ । तर, प्रचार नै गर्न सकिएन । सुरुवात गरेका योजनाहरु अर्को सरकार आउँदा रोकिएका छन् । यो कुरा जनतालाई बुझाउन सकिएको छैन । एमालेले गरेका काम स्थापित हुन नसक्नु नै हामी जनतामाझ पुग्न नसक्नुको कारण हो । अब जनतामाझ गएर एमालेले गरेका कामलाई स्थापित गर्नुपर्छ,’ उनले भने ।
पार्टीमा चुनौती आईपर्दा रक्षा गर्ने दायित्व कार्यकर्ताको हुने भएकाले पार्टीको अभियानलाई महत्व दिएर अघि बढ्न उनको आग्रह छ । आन्तरिक मतभेदका कारण मोरङ पार्टीमा निकै समस्या देखिएको बताउँदै उनले एकले अर्कोलाई दोष दिनुभन्दा आत्मसमीक्षा गरेर अघि बढ्ने बेला आएको उल्लेख गरे ।
‘कुनै समय १ क्षेत्रबाहेक सबै क्षेत्र जितेको मोरङले अहिले १ क्षेत्रबाहेक सबै क्षेत्र हार्ने स्थिति कसरी आयो ? यो कुराले मोरङलाई पोल्नुपर्छ,’ उनले भने, ‘१ सिट कम हुँदा सरकार सञ्चालनमा कतिको असर पुग्छ ? यसले मोरङलाई पोल्नुपर्छ । एकले अर्कोलाई दोष दिएर उम्कन मिल्दैन । यसमा सबै नेताहरु गम्भीर हुनुपर्छ ।’
त्यसैगरी, एमाले केन्द्रीय सदस्य एवं मोरङ इन्चार्ज जीवन घिमिरेले संगठनमा सुधार ल्याउनकै निम्ति पार्टीले देशव्यापी रूपमा जरा केन्द्रित अभियान सञ्चालन गरेको बताए । माथिको भाग बलियो बनाउन जरालाई बलियो बनाउनुपर्ने भएकाले पार्टी जरा केन्द्रित अभियानमा रहेको उनको भनाइ छ ।
त्यस्तै, एमाले कोशी प्रदेशका अध्यक्ष धनश्याम खतिवडाले पार्टीभित्र गुट उपगुटको अन्त्य भएको बताए । सबै एक ढिक्का भएर अघि बढ्नुपर्नेमा उनको जोड छ । जनतामाझ गएर पार्टीले गरेका काम राम्ररी बुझाउन आवश्यक रहेको खतिवडाले बताए ।
एमालेका बारेमा बाहिर अनर्गल प्रचार गरेर जनतामा भ्रम फैलाउने काम भइरहेको बताउँदै खतिवडाले त्यो भ्रमलाई चिर्न जरा केन्द्रित अभियान महत्वपूर्ण हुने उल्लेख गरे । उनले पार्टीको जरा केन्द्रित अभियान कोशी प्रदेशको १ हजारभन्दा बढी वडा र १० हजार बढी टोलहरुमा पुग्ने जानकारी दिए ।
एमाले कोशी प्रदेशका सचिवालय सदस्य तथा विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले कोशी प्रदेशको १ मात्र महानगरपालिकाको कमिटीले गर्ने कार्यक्रम र अभियानहरु प्रदेशका अन्य पालिकाका लागि उदाहरण बन्नुपर्ने बताए । बस्नेतले अभियानमार्फत पार्टीको नीति , सिद्धान्त र सरकारका उपलब्धिलाई जनतामाझ लगिने प्रष्ट पारे ।
महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाले विकासको खाका निर्माण गरेर मिसन ८४ अन्तर्गत विराटनगर महानगरपालिकाको प्रमुखसहितको पद जित्ने तयारीमा पार्टी लाग्ने बताए । गत मंसिर अन्तिम साता बसेको एमाले बैठकले माघदेखि चैतसम्म ३ महिने वडा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

























