
विराटनगर । दलित महिला संघ (फेडो)ले मुलुकका विभिन्न प्रदेशमा भएका लैंगिक हिंसाको घटनासँग सम्बन्धित विवरण सार्वजनिक गरेको छ । विराटनगरमा आइतबार कार्यक्रमको आयोजना गरेर फेडोले विवरण सार्वजनिक गरेको हो ।
विवरण अनुसार नेपालमा जातीय तथा लैंगिक आधारमा महिला र बालिकामाथि हिंसा धेरै भइरहेको छ । २०२३ को नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधिभर प्रकाशित विषयवस्तुमा केन्द्रित भएर गरिएको विश्लेषणमा प्रदेशगत रुपमा मधेश प्रदेशमा सबैभन्दा बढी हिंसा हुने गरेको देखिएको छ ।
फेडोले नेपालमा जातीय तथा लैंगिक आधारमा महिला र बालिकामाथि हुने हिंसा न्यूनीकरणमा संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर तथ्यांक बाहिर ल्याएको हो । फेडोले सार्वजनिक गरेको जातीय तथा लैंगिक आधारमा महिला र बालिकामाथि हुने हिंसा अध्ययन प्रतिवेदन, २०८१ अनुसार लैंगिक आधारमा हुने हिंसा मधेशमा सबैभन्दा बढी देखिएको छ ।
प्रदेशगत मुद्दाको अवस्था विश्लेषण गर्दा सबैभन्दा बढी ३१.५३ प्रतिशत घटना मधेश र सबैभन्दा कम ३.६८ प्रतिशत गण्डकी प्रदेशमा रहेको पाइएको छ । मधेश प्रदेशका कूल ७ हजार ५ सय ८२ घटना अभिलेखन भएका छन् । गण्डकी प्रदेशमा ८ सय ८७ घटना अभिलेखन भएका छन् ।
देशभर भएका २० हजार ४ सय ४५ वटा घटनामध्ये लुम्बिनीमा १६.८८, कोशीमा ११.१५, बाग्मतीमा ८. ८७, काठमाडौं उपत्यकामा १४.४३, सुदूरपश्चिममा ७.५५ र कर्णालीमा ५.८६ प्रतिशत हिंसाका घटना भएका छन् ।
फेडोले घरेलु हिंसा, घरेलु हिंसाका कारण कर्तव्य ज्यान, बलात्कार, बलात्कारको प्रयास, जबरजस्ती करणी गरी हत्या, अपहरण गरी बलात्कार, मानव बेचबिखन, अवैध गर्भपतन, सार्वजनिक स्थलमा दुर्व्यवहार, जातीय छुवाछूत, बोक्सीको आरोप, बालविवाह, दाइजोसम्बन्धी कसुर, बाल यौन दुरुपयोग
र अप्राकृतिक मैथुनका घटनाहरुलाई केन्द्रित गरेर अध्ययन गरिएको फेडोकी मोरङ अध्यक्ष शर्मीला परियारले जानकारी दिइन् ।
उनका अनुसार सबैभन्दा बढी घरेलु हिंसाका घटनाबाट १९ हजार ७ सय ७३ जना पीडित भएका छन् । बलात्कारबाट २ हजार ९ सय २६ र बालयौन दुरुपयोगबाट ४ सय ८३ जना पीडित भएको उनले बताइन् ।
अध्यनन प्रतिवेदन अनुसार लैंगिक आधारमा महिला ८० प्रतिशत, पुरुष ८.१५, बालिका ११.५४ र बालक ०.२४ प्रतिशत पीडित छन् । महिलातर्फ मधेशी र बालिकातर्फ जनजातिमा धेरै हिंसा भएको देखिन्छ । महिलातर्फ कम हिंसाका घटना भएको समुदायमा बाह्मण देखिएको छ ।
बालिकातर्फ अन्यको संख्या कम छ । महिलातर्फ अभिलेखन भएका कूल उजुरीमा ३३.६५ प्रतिशत मधेशी महिलाले विभिन्न प्रकारका हिंसाको सामना गर्नुपरेको देखिएको फेडोकी कोषाध्यक्ष गोमा खातीले बताइन् ।
उनका अनुसार हिंसापीडित दलित महिलाको संख्या ११.५४ प्रतिशत (२ हजार २ सय २१) छ । यस समुदायका हिंसामा पर्ने महिलाहरू मध्ये घरेलु हिंसामा १ हजार ९ सय ८३, बलात्कारमा १ सय ७०, बलात्कारको प्रयासमा ३०, जातीय छुवाछूतमा १७ जना परेका छन् । अन्य बाँकी दलित पुरुष छन् ।
सार्वजनिक स्थलमा दुर्व्यवहारका ५, बोक्सीको आरोपका ३ र अवैध गर्भपतनका २ वटा घटना रहेको प्रतिवेदनमा उल्लेख छ । जातीय पहिचान नखुलाएका हिंसापीडित महिलाको संख्या ११.११ प्रतिशत छ ।
बालिकातर्फ २ हजार ७ सय ७७ जना हिंसामा परेका छन् । आदिवासी जनजातितर्फ सबैभन्दा बढी ९ सय ६४ वटा हिंसाका घटना भएका छन् । ६ सय ४२ जना बालिका बलात्कृत भएका छन् ।
यो बालिकातर्फ समग्र बलात्कारका घटनाको २३.११ प्रतिशत हो । यस समुदायका बालिका पीडित भएको कूल घटनामध्ये ६६.५९ प्रतिशत हो । त्यस्तै २ सय २ जना बाल यौन दुरुपयोग, ७२ जना बलात्कारको प्रयास, २७ जना घरेलु हिंसा, ८ जना अपहरण गरी बलात्कार, ६ जना बालविवाह, ३ मानव बेचबिखन जबरजस्ती करणी, २ जना बलात्कार गरी हत्या र १–१ जना सार्वजनिक दुर्व्यवहार र अप्राकृतिक मैथुनबाट पीडित भएका छन् ।
हिंसापीडित दलित समुदायका बालिकाको संख्या १९.४४ प्रतिशत छ । जसमा बलात्कारका ३ सय ८७, यौन दुरुपयोगका ७४, बलात्कार प्रयासका ३९, घरेलु हिंसाका १८, बालविवाहका ८, मानव बेचबिखन जवरजस्ती करणीका ५, अपहरण गरी बलात्कार र सार्वजनिक स्थलमा दुर्व्यवहारका ४–४ तथा जबरजस्ती करणी गरी हत्यामा एउटा घटना अभिलेखन भएको फेडोका मोरङ कार्यक्रम संयोजक नरबहादुर आउजीले बताए ।


















