
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले फागुन १२ गते सोमबारबाट ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’ सञ्चालन गर्ने भएको छ । याे अभियानका क्रममा काेशीमा ३ जिल्लामा ५ हजार सक्रिय कार्यकर्ता थप्ने लक्ष्य राखेकाे छ ।
कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो ।
झापाको कचनकबलबाट सुरु भई हुलाकी राजमार्ग हुँदै कञ्चनपुरमा समापन हुनेछ । पार्टीलाई २०६४ सालकै हैसियतमा फर्काउने लक्ष्यसहित अभियान सञ्चालन गर्ने माओवादीले दाबी गरेको छ ।
हुलाकी राजमार्गले छुने कोशी प्रदेशका तीन जिल्ला (झापा, मोरङ र सुनसरी) मा आयोजना हुने कार्यक्रममा अध्यक्ष प्रचण्डसहित पार्टीका पदाधिकारी सहभागी हुनेछन् ।
माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) का अनुसार फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट अभियानको उद्घाटन हुनेछ । बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट हुनेछ । फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभा हुनेछ ।
फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभा हुनेछ ।
फागुन महिनाभरी हुलाकी राजमार्ग केन्द्रीत प्रदेशस्तरीय अभियान संचालन गर्ने उनले बताए । अभियानका क्रममा पाँच जनाजनालाई पार्टी प्रवेश गराउने लक्ष्य राखिएको उनले बताए ।
अभियानको क्रममा तराई चुरे जनसाङ्गीतिक अभियान ‘समाजवादी संस्कृति र चेतना जागरणको लागि तराई चुरे अभियान’ समेत संचालन गरिने उनले जानकारी दिए ।
६४ सालमा फर्काउने लक्ष्य
पत्रकार सम्मेलनमा बोल्दै माओवादी कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार)ले निरन्तर अभियान संचालन गरेर माओवादीलाई ६४ सालकै हैसियतमा फर्काउने दाबी गरे ।
माओवादीले ६४ सालमा झापा, मोरङ र सुनसरीको २२ सिटमा १० सिट जितेको थियो ।
‘हामीले त्यसबेला झापामा ५ सिट, मोरङमा ४ सिट र सुनसरीमा १ सिट जितेका थियौं । किराँतमा त्यसबेला दुई तिहाई जितेका थियौं । लिम्बूवान अलिक कमजोर भयो । अहिले हामी ६४ फर्काउन लागेका छौं,’ उनले भने ,’ अब हामी जनतासँग भेटघाट र जनसम्बन्ध सुधार गर्नेतिर हामी जान्छौं । ऐतिहासिक मिसनको सुरुवात पूर्वबाट भयो ।’
‘अहिले तपाईहरुले पत्याउनु हुन्न होला । तर, हेर्दै जानुहोला माओवादीले ८४ सालको निर्वाचनमा एक्लै लडेर पूर्वबाट लिड गर्छ,’ उनले भने ।
१२ बुँदे प्रस्ताव पारित
यसैबीच माओवादी केन्द्र कोशी प्रदेशको प्रदेश परिषद बैठकले १२ बुँदे समसामयिक प्रस्तावहरु पारित गरेको छ । फागुन ३ गते बसेको उक्त बैठकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणकार्यको बिरोधमा आन्दोलनरत पक्षलाई गोलिहानी घाइते बनाएको घटनाको घोर भत्सर्ना गरिएको छ । उक्त विषयमा बार्ता मार्फत समाधान खोज्न र तत्कालका लागि निर्माण रोक्न आग्रह गरिएको छ ।
यस्तै गत भदौ असोजको बर्षापछि आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई क्षतिपूर्ति दिन र भत्किएको पुल बाटोघाटो, खाने पानी, सिंचाई लगायतका भौतिक संरचना तत्काल पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
यस्तै तत्काल किसानलाई मल उपलब्ध गराउन, दैनिक उपभोग्य बस्तु र रड, सिमेन्ट जस्ता निर्माण सामग्रीको आकासिदो मुल्यवृद्धि नियन्त्रण गर्न, प्रदेश सरकारले प्रेस स्वातन्त्रतालाई कुण्ठित गर्ने गरि ल्याएको आम संचार विधेयकका प्रावधान खारेज गर्न, कृषिउपजको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, औपचारिक क्षेत्रका श्रमिकहरुको ज्याला वृद्धी गर्न र अनौपचारिक क्षेत्रका मजदुरहरुको न्यूनतम ज्याला निर्धारण गर्न माग गरिएको छ । यस्तै तराइ भेगमा जंगली हात्ती आतंक र पहाडि भेगमा बाँदरबाट भइरहेको ठूलो क्षतिलाई न्यूनीकरण गर्न पनि माओवादीले माग गरेको छ ।
प्रदेश सरकारको चालू आर्थिक वर्षमा पारित बजेट तथा योजना अनुसार सहिद आवास कार्यक्रम तत्काल कार्यान्वयन गर्न र विकास निर्माण, सार्वजनिक सेवा र सुशासनको क्षेत्रमा हुने गरेको, अनियमितता, ढिलासुस्ति र बेथितिलाई नियन्त्रण गर्न पनि माओवादीले माग गरेको छ ।
























