
विराटनगर । नेकपा (माओवादी केन्द्र) ले अझै पनि कोशी प्रदेशको नामका विषयमा दोहोरो चरित्र देखाइरहेको छ ।
२०७९ फागुन १७ गते प्रदेशसभामा मतदान हुँदा कोशीको पक्षमा मतदान गरेको माओवादी पहिचान पक्षधरले आन्दोलन सुरु गरेपछि ‘ब्याक’ भएको थियो । माओवादीले पार्टी पहिचानको पक्षमा रहेको दाबी गर्यो । माओवादी आत्मालोचनासहित पुनःपहिचानको पक्षमा उभिने निर्णय गरेको थियो ।
त्यसपछि माओवादी केन्द्रले सार्वजनिक हिसाबले कार्यक्रमको आयोजना गर्दा ब्यानरमा प्रदेशको नाम कोशी लेखेन । माओवादीले विराटनगरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोशी र १ नम्बर प्रदेश दुवै लेखेको छ । कार्यालयले ब्यानर बनाएर ल्याएका कारण पत्रकार सम्मेलनमा दुवै नाम राखिएको ब्यानर प्रयोग गरिएको माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले बताए ।
उनका अनुसार नामका विषयमा पार्टीभित्र छलफल जारी छ । ‘पहिचानको कुरामा हाम्रो पार्टीको अडान छँदैछ । नामकरणका विषयमा हाम्रो कमजोरी स्वीकार गरिसकेका छौं,’ उनले भने, ‘अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ । कोशी स्वीकार गरिएको होइन ।’
माओवादीले कोशीको नाम संशोधन गरी पहिचानको आधारमा राख्नुपर्ने बताउँदै आएको छ । गत मंगलबार माओवादी कोशी प्रदेशको प्रदेश परिषद् बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको नाममा थप छलफल गरेर निष्कर्षमा पुग्ने बताएका थिए ।
‘प्रदेशसभाले कोशी पारित गरेपछि त्यो नै नाम वैधानिक भयो । पार्टीले प्रदेश १ लेखिरहेको विषयमा अध्यक्षज्यूले थप छलफल गर्नुपर्ने भन्नु भएको छ,’ बैठकमा सहभागी एक नेताले भने ।‘
























