
काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सामाजिक सञ्जालसम्बन्धी विधेयक जस्ताको त्यस्तै पास हुने हो भने अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्ने बताएका छन् ।
काठमाडौंमा आज (मंगलबार) आयोजित नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा उनले नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाउने कुरामा दुईमत नभएको भन्दै विधेयक फिर्ता गरेर सामाजिक सञ्जाल प्रयोग गर्नेहरुसँग बसेर छलफल गर्नुपर्ने बताए ।
उनले भने, ‘सामाजिक सञ्जाल विधेयक भर्खर संसदमा गएको छ, छलफल हुन बाँकी नै छ । जसरी यो विधेयक आएको छ र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रतामाथि नै आघात पुग्छ ।’ उनले नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाइने धारणा राखे ।
























