
विराटनगर । सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाबाट बराह ज्वेलरी इन्ड्रष्टिज प्रा.लिले कर्मचारीको नाममा ऋण लिएको फेला परेको छ ।
बराह सहकारी र ज्वेलरीका सञ्चालक एकै हुन् । सर्वसाधारणबाट संकलन गरेको बचत संस्था सञ्चालकले ज्वेलरीका कर्मचारीको नाममा ऋण लिएर अपचलन गरेको अनुसन्धानबाट पत्ता लागेको छ । बराह सहकारीबाट बराह ज्वेलरी इन्डष्ट्रिज प्रा.लिका नाममा २७ करोडभन्दा बढी लगानी भएको छ ।
यो रकममध्ये १५ करोड ८४ लाख कर्मचारीको नाममा लिइएको हो । सहकारीबाट ऋण लगानी भएकै दिन बराह ज्वेलरी इन्डष्ट्रिज प्रा.लिले कर्मचारीसँग कबुलियतनामा गरेको भेटिएको छ । मुलुकी खबरलाई प्राप्त कबुलियतनामामा २६ जना कर्मचारीको नाममा १५ करोड ८४ लाख रुपैयाँ ऋण निकालेको देखिन्छ ।
बचत अपचलनका लागि सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले आफ्नै छोराको नाममा पनि ४५ लाख रुपैयाँ ऋण दिएको देखिन्छ । यो ऋणमा बराह ज्वेलरी इन्डष्ट्रिज प्रा.लिले नै कबुलियतनामा गरेको छ ।
सहकारीबाट अध्यक्षका छोरा संयोग दियाली विकले २०७६ साल जेठ ३२ गते ४५ लाख रुपैयाँ ऋण निकालेको देखिन्छ । सोही दिन बराह ज्वेलरी इन्डष्ट्रिज प्रा.लिका अख्तियारप्राप्त व्यक्ति अम्बरबहादुर विश्वकर्माले उनीसँग कबुलियतनामा गरेका छन् । २६ वटै कबुलियतनामाको भाषा एउटै छ ।

जसमा भनिएको छ, ‘…ले बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट मिति २०७६ जेठ ३२ मा (अक्षरेपी चवालिस लाख मात्र) ऋण लिइ उक्त रकम सोही मितिमा बराह ज्वेलरी इन्डष्ट्रिज प्रा.लिको व्यापार व्यवसाय संचालन एवं प्रवर्धन गर्नको लागि लिएको ठीक साँचो हो । उक्त ऋण रकमको संस्थामा बुझाउनुपर्ने नियमानुसारको साँवा तथा ब्याज रकम यस प्रा.लिले बुझाउने छ । उक्त ऋण रकम बराबरको सम्पूर्ण तिर्नुपर्ने दायित्व रकम यस बराह ज्वेलरी इन्डष्ट्रिज प्रा.लिले बराह बचत तथा ऋण सहकारी संस्थामा बुझाउने कबुलियतनामा गरिदिएको छु ।’
कर्मचारीको नाममा ४५ लाखदेखि १ करोड रुपैयाँसम्म ऋण लिइएको देखाइएको छ । प्रहरी अनुसन्धानका क्रममा २७ करोडभन्दा बढी सहकारीको रकम ज्वेलरीमा लगानी भएको पत्ता लागेको छ । सरकारीको ‘सफ्टवेर’मा भएको डाटामा भने कर्मचारीको नाम उल्लेख छैन । ऋणका विषयमा विरोध भएपछि कर्मचारीको नाम हटाएर बराह इन्डष्ट्रिजकै नाम राखेको भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार सहकारीको बचत ‘पासबुक’ भर्दै बराह इन्डष्ट्रिजले नै बचत संकलन पनि गरेको थियो । ‘बराह सहकारीको ‘पासबुक’ दिएर बराह ज्वेलरीले कारोबार गरेको भेटियो, ज्वेलरीमा सहकारीको ‘पासबुक’मा लेख्ने । तर, कारोबार चाहिँ पसलमा हुन्थ्यो,’ प्रहरी स्रोत भन्छ, ‘सहकारीका नाममा ब्रम्हलुट नै मच्चाएको देखियो ।’
सहकारी ठगी प्रकरणको करिब ३ महिना अनुसन्धान गरी प्रहरीले प्रतिवेदन (मिसिल) सरकारी वकिलको कार्यालय सुनसरीमा बुझाएको छ । ४८ जना सञ्चालक र ऋणीसहित २ सय १६ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको हो ।
उनीहरुबाट १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ असुल गर्नुपर्ने उल्लेख छ । प्रहरीका अनुसार असुल गर्नुपर्ने रकम ऋणीबाट थोरै छ । सञ्चालकबाट धेरै छ ।
सहकारीबाट ठगिएको भन्दै ४ हजार १ सय ४७ वटा जाहेरी परेको थियो । जसमा ४ हजार ७ सय ६० जना पीडित छन् । जाहेरीका आधारमा मात्रै ५ अर्ब ८५ करोड ९६ लाख ७२ हजार ७ सय १० रुपैयाँ बचत फिर्ता माग गरिएको छ । प्रहरीका अनुसार सहकारीमा १३ हजार बचतकर्ता रहेको देखिन्छ । तर, सबैको जाहेरी परेको छैन ।

सर्वसाधारणबाट दैनिक बचतमार्फत संकलन हुने रकम बराह ग्रुपका सञ्चालकले आफ्नो कम्पनीमा लगानी गर्थे । बराह ग्रुप मातहत २८ वटा सहायक कम्पनी छन् । ‘ठूलो ‘एमाउन्ट’ सहकारीमा जम्मा भएको होइन । सहकारीको दायित्व मात्रै १ अर्ब २२ करोड हाराहारी पुग्छ । सहकारीको पासबुकमा ज्वेलरीमा कारोबार भएको छ । यो रकम धेरै छ,’ प्रहरी स्रोतले भन्यो ।
ठगीको साम्राज्य
प्रहरीका अनुसार सहकारीको नाममा शिव लामिछानले परिवार र आफन्तमार्फत ठगीको साम्राज्य नै चलाएको देखिन्छ । यो सहकारीमा देशभरबाट सर्वसाधारणको १४ अर्ब हाराहारी रकम डुबेको छ । सुनसरी प्रहरीको अनुसन्धान अन्ुसार धरानमा मात्रै १० अर्ब ७३ करोड अनियमितता भएको देखिन्छ ।
चितवन, काठमाडौं र कास्कीमा पनि अनुसन्धान जारी छ । २०५२ सालमा भोजपुरबाट धरान झरेका इन्द्र लामिछाने (विश्वकर्मां)ले धरानका लाहुरे परिवारलाई लक्षित गरेर बराह ज्वेलरी इन्टरप्राइजेज स्थापना गरेका थिए । सुरुदेखि नै ज्वेलरीमार्फत आकर्षक ब्याजको लोभ देखाएर बचत संकलन गर्थे । धरानबाट हङकङमा पनि शाखा सुरु गरे ।
‘ब्राण्ड’को रुपमा स्थापित भएपछि बराहले आफ्नो नामको पछाडि ‘विश्वासको प्रतीक’ उपनाम थपेको थियो । सुन पसलमा बचत तथा ऋणको कारोबारमा रोक लागेपछि २०६६ सालमा बराह बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो ।
सहकारीको रकम बराह ग्रुप मातहत रहेको बराह ज्वेलरी प्रा.लिमा २७ करोड २८ लाख ४९ हजार, बराह फेमली किचेनमा ३ करोड ४ लाख २७ हजार, बराह डिपार्टमेन्ट स्टोरमा ८७ लाख ९६ हजार १ सय ८८, बराह भेडेटार मल्टी प्रपोज प्रा.लिमा ४ करोड ८६ लाख ८९ हजार, बराह कृषि उपज तथा पशुपालन प्रा.लिमा ४ करोड ६८ लाख ३ हजार ३८२, बराह भेडेटार मल्टी प्रपोज प्रा.लिमा थप २८ लाख २५ हजार २ सय ३८ रुपैयाँ लगानी भएको देखिन्छ ।
यो लगानीको हिसाबकिताब संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माले प्रतिनिधिसभाको संसदीय छानविन विशेष समितिमा बयानका क्रममा पनि प्रस्तुत गरेका थिए । प्रहरी अनुसन्धानका क्रममा भने यो रकम धेरै देखिएको छ ।
२०५२ सालमा स्थापना भएको ज्वेलरीले २०६९ सालसम्म आफ्नो व्यापारिक साम्राज्य विस्तार गरिसकेको थियो । २०६९ साल माघमा हङकङ गएका बेला इन्द्र उतै झुण्डिएको अवस्थामा मृत भेटिए । उनको मृत्युपछि अधोगतितर्फ लागेको बराह ग्रुप कोरोना महामारीपछि झन् डुबेको थियो ।
लामिछानेले परिवारका सदस्यहरुलाई मात्रै राखेर बराह ज्वेलरी प्रा.लि, बराह फेमली किचेन, बराह डिपार्टमेन्ट स्टोर, बराह भेडेटार मल्टी प्रपोज प्रा.लि, बराह कृषि उपज तथा पशुपालन प्रा.लि, कृपा दृश्य डिजिटल प्रोडक्सन प्रा.लि खोलेका थिए । धरान बाहिर इन्द्र बराह ट्राभल्स एण्ड टुर्स प्रा.लि काठमाडौ, नारायण बराह ज्वेलरी इन्डष्ट्रिज प्रा.लि भरतपुर चितवन, गोर्खा एण्ड बराह ज्वेलरी इन्डष्ट्रिज प्रा.लि पोखरा, बराह ज्वेलरी इन्डष्ट्रिज प्रा.लि काठमाडौं, बराह प्रपर्टी सर्भिसेस प्रा.लि काठमाडौं, बराह नेसनल इन्भेष्टमेन्ट प्रा.लि काठमाडौं, ड्रिम ल्याण्ड रियल स्टेट प्रा.लिलगायत २८ वटा कम्पनी खोलेका थिए ।

























