
काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ स्थित होटेल डायमन्ड प्यालेसबाट ८०८ ग्राम खैरो हेरोइनसहित आज (मंगलबार) साँझ तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जले साँझ ५ बजे उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रिजवान अहमद इदरीशी, माज अहमद र रफत खान छन्। उनीहरूबाट शुद्ध तौल ८०८ ग्राम खैरो हेरोइन, दुई थान मोबाइल फोन र भारतीय नम्बर प्लेट यूपी ३२ एफएच २६७९ को एक थान स्कुटी बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई बरामद लागुऔषध तथा अन्य सामग्रीसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























