खैरो हेरोइनसहित दुई जना पक्राउ

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार १२:०१

काठमाडौं । भारतबाट खैरो हेरोइन ल्याएर काठमाडौं उपत्यकामा बिक्री वितरण गर्ने गिरोहविरुद्धको कारबाहीमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक प्रतिवादी र एक भारतीय महिला छन् ।

ब्यूरोको टोलीले असोज १३ गते चन्द्रागिरी नगरपालिका–७, सतुङ्गलबाट लमजुङको बेसीशहर नगरपालिका–२ ठेगाना भएका २७ वर्षीय विक्रम गुरुङलाई पक्राउ गरेको हो । उनको साथबाट २८ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन र ७ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

गुरुङमाथि थप अनुसन्धान गर्दा भारतको सिलिगुडीबाट काठमाडौंमा खैरो हेरोइन ल्याएर आपूर्ति गर्ने भारतको पश्चिम बंगाल ठेगाना भएकी ५० वर्षीया प्रिया भुजेलको संलग्नता खुलेको प्रहरीले जनाएको छ । उनलाई असोज १४ गते चन्द्रागिरी नगरपालिका–१२ बाट १ सय ८२ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गुरुङ यसअघि २०८१ असोज २ गते २ सय ९४ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइनसम्बन्धी मुद्दामा पक्राउ परी जगन्नाथ देवल कारागारमा थुनामा रहेका थिए । उनी जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएको प्रहरी अभिलेखबाट खुलेको छ ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×