
विराटनगर । सञ्चार माध्यमको विकासमा पार्टी र सरकारले सहयोग गर्नुपर्ने कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राईले बताएका छन् ।
बिहीबार विराटनगरमा सम्पन्न नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सञ्चार माध्ययमहरुको पछिल्लो अवस्था राम्रो नभएको बताउँदै उनले विकासमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘पार्टी र प्रदेश सरकारले गर्नुपर्ने दायित्वबाट पछि हट्दैन र आवश्यक सुधारको काममा सधैं तयार रहन्छ ।’
बैठकले कोशी प्रदेशमा सञ्चालनमा रहेका सञ्चार माध्ययमहरुको अवस्थाको अध्ययन र आवश्यक सुधारका लागि प्रचार विभागका प्रमुख लक्ष्मण तिवारी, उपप्रमुख भीमज्वाला राई, सचिव यज्ञ शर्मा, सदस्य मोहनकाजी न्यौपाने र सुमन पुरी रहेको पाँच सदस्यीय समिति गठन गरेको छ ।
कोशी प्रदेशमा ५ सय २९ पत्रपत्रिकाहरु र २ सय १६ अनलाईन डिजिटल पत्रिका रहेको तथ्याङक छ । मिडियाको अवस्था र चुनौतिहरु, तिनलाई सुधारका साथै सञ्चारमाध्ययमहरुमा काम गर्ने सञ्चारकर्मीहरुको अवस्था र भविष्यका बारेमा अध्ययन गरि प्रदेश सरकारका तर्फबाट गर्न सकिने प्रयासहरुका सम्बन्धमा सुझाव प्रस्तुत गरिने प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए ।
बैठकले प्रदेशमा रहेका मिडियाहरु समाज र सिंगो प्रदेशकै साझा सम्पति रहेकाले त्यसको जगेर्नामा पार्टीले विशेष योजना ल्याउनेगरी छलफल भएको प्रचार विभागका उपप्रमुख भीमज्वाला राईले बताए ।
























