
विराटनगर । विराटनगर–१६ स्थित मिल्स माध्यमिक विद्यालयले ७४ औं वार्षिकोत्सवका अवसरमा शिक्षक र विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा स्वर्गीय योगप्रसाद उपाध्याय स्मृति उत्कृष्ट शिक्षक पुरस्कार शिक्षिका इन्दिरा गुरागाईंलाई प्रदान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नगद ११ हजार १ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।
समाजसेवी प्रकाश दाहालले विद्यालयको वार्षिकोत्सवका अवसरमा हरेक वर्ष उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्नेगरी सो पुरस्कार स्थापना गरेका हुन् ।
सोही अवसरमा शिक्षकहरू सुधीर यादव, ओमप्रकाश राजवंशीलगायत ४ जनालाई उत्कृष्ट शिक्षक सम्मानबाट सम्मानित गरिएको थियो ।
मेयर कोइरालासहित महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १६ का अध्यक्ष उद्धव भुलेज, विद्यालयका प्रधानाध्यापक बिन्दुकुमार लावतीलगायतले दोसल्ला ओढाएर सम्मान गरे ।
त्यस्तै, कक्षा ७ मा अध्ययनरत युनिसा कार्कीसहित १ दर्जन उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू सिर्जना हुनसक्ने बताए । विद्यालयदेखि नै विद्यार्थीले सीपमूलक र रोजगारमूलक शिक्षा प्राप्त गरेमा उत्पादित जनशक्तिले विदेश गएर पनि राम्रो कमाइ गर्न सक्ने उनको भनाइ थियो ।
‘अहिले दैनिक २ हजारभन्दा बढी युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । सीप नसिकी जाँदा उनीहरूले भनेजस्तो कमाइ गर्न सकेका छैनन्,’ मेयर कोइरालाले भने, ‘सीपमूलक शिक्षा दिन सकेमा स्वदेशमै पनि स्वरोजगार हुन सक्छन् । अहिलेको जमाना भनेको विश्वविद्यालयको सर्टिफिकेटले मात्रै रोजगारी प्राप्त गर्ने अवस्था छैन । हातमा कुनै न कुनै सीप हुनै पर्दछ । विद्यालय तह पार गर्दा होस् वा विश्वविद्यालय पार गर्दा होस् विद्यार्थीमा सम्बन्धित विषयमा पर्याप्त दक्षतासँगै सीप भएमा सहजै रोजगारी प्राप्त गर्न सक्ने अवस्था रहन्छ । नत्र भने सर्टिफिकेट बोकेर रोजगारीको खोजीमा भौतारिनुपर्ने अवस्था आउँछ ।’
विराटनगर महानगरपालिकाले सबै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा ध्यान दिएको उनले प्रस्ट पारे ।
पछिल्लो समय अधिकांश सामुदायिक विद्यालयको गुणस्तरमा सुधार हुँदै गएको चर्चा गर्दै मेयर कोइरालाले भने, ‘महानगरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध कार्य गरिरहेको छ । महानगरको उद्देश्यअनुरूप मिल्स माविले पनि निकै प्रगति गरेको छ ।’
२००७ सालमा स्थापित मिल्समा हाल नर्सरी, केजी, कक्षा १, २, ६ र ७ मा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ ।
कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ पढाइ भइरहेको प्रअ लावतीले जानकारी दिए । पढ्दै पढाउँदै कमाउँदै कार्यक्रमलाई विद्यालयले लागू गरेको प्रअ लावतीको भनाइ थियो ।
उनका अनुसार पढ्दै पढाउँदै कमाउँदै कार्यक्रमअन्तर्गत शिक्षक विद्यार्थी मिलेर कम्प्युटर, ल्यापटप, मोबाइल मर्मत केन्द्र सञ्चालन गरिएको छ । साथै छतमा ड्रागन खेती र विद्यालयको खाली जग्गामा केरा खेती पनि सुरु गरेको छ ।
विद्यालयले केही वर्षयता निकै प्रगति गरेको व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष उद्धव भुजेलले बताए । मिल्स माविलाई दक्षिणी क्षेत्रको मात्रै नभएर विराटनगरकै उत्कृष्ट विद्यालय बनाउने उद्देश्यअनुसार अगाडि बढिरहेको भुजेलको भनाइ थियो ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीले विज्ञान, प्रविधि, कला र स्वास्थ्य प्रदर्शनी राखेको थियो । विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।
विद्यालयमा १ हजार १ सय ४६ जना विद्यार्थी अध्ययनरत छन् भने ५३ शिक्षक–कर्मचारी कार्यरत छन् ।

























