विराटनगर महानगरद्वारा अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ९, शुक्रबार १८:२२

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।

विराटनगरस्थित आदर्श माविमा आयोजित विज्ञान प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्‌घाटन गर्दै विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताए । 

महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै, मेयर कोइरालाले भने, ‘विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको छ । तपाईं विद्यार्थीहरू खोज अनुसन्धानमा लाग्नुहोस् महानगरका तर्फबाट तपाईंहरूलाई सधैँ साथ रहन्छ । प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू प्राप्त हुन्छन् । आफैं स्वरोजगार पनि हुन सकिन्छ ।’

मेयर कोइरालाले अन्तरीक्ष सम्बन्धी खोज अनुसन्धानका लागि प्रदेशस्तरमा केन्द्र स्थापना हुनुपर्नेमा समेत जोड दिए । 

उपमेयर शिल्पा निराला कार्कीले विद्यालयस्तरदेखि नै विद्यार्थीहरूलाई खोज र अनुसन्धानमा लाग्न विज्ञान प्रदर्शनीले थप प्रेरित गर्ने बताइन् ।

उनले यस्ता प्रदर्शनीले विज्ञान र प्रविधिमा चासो राख्ने विद्यार्थीलाई अगाडि बढ्न सहयोग पुग्ने विचार राखिन् । 

विज्ञान र प्रविधितर्फ विद्यार्थीको आकर्षण बढाउन महानगरले हरेक वर्ष प्रदर्शनी आयोजना गर्ने गरेको उपमेयर कार्कीले बताइन् ।  

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई मोरङका निमित्त प्रमुख जीवन गड्तौलाले महानगरले वृहत विज्ञान प्रदर्शनी गरेर विद्यार्थी–विद्यार्थीबीच र विद्यालय–विद्यालयबीच प्रतिस्पर्धी क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । प्रदर्शनीबाट विद्यार्थीको क्षमता निखारिँदै जाने उनको विचार थियो । 

महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष अमित ढकाल, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतको उपस्थितिमा भएको प्रदर्शनीमा ४७ वटा विद्यालयले सहभागिता जनाएका छन् ।  

कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीमध्ये हरेक विद्यालयबाट १ जना छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाएको शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले जानकारी दिए । 

सहभागीमध्ये बाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यालय छनौट गरिनेछ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यालयलाई क्रमशः २०, १५, १० र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । 

५ वटा विधामा उत्कृष्ट हुने विद्यालयलाई प्रोत्साहन स्वरुप २–२ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । २०७६ सालदेखि सुरु भएको प्रदर्शनीमा गत वर्ष १० हजारभन्दा बढीले अवलोकन गरेका थिए ।

यस वर्ष १५ हजारभन्दा बढी विद्यार्थीले प्रदर्शनी अवलोकन गरेको बताइएको छ ।  

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.