
काठमाडौं । चीनको जातीय मामिला मन्त्री पान यूए केही बेरअघि नेपाल आइपुगेका छन्। श्रीलंकाको कोलम्बो हुँदै काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च अधिकारीहरूले स्वागत गरेका छन्।
आदिवासी जनजाति आयोगको निमन्त्रणमा नेपाल आएका यूए चिनियाँ राष्ट्रपति सिजिङ पिङ नेतृत्वको मन्त्रिमण्डलका १ जना सदस्य हुन् । उनी ४ दिनसम्म नेपालमै रहने कार्यक्रम छ ।
सन् २०२४ को सेम्टेम्बरमा आयोगका अध्यक्ष रामबहादुर थापा मगर चीन भ्रमणका क्रममा बेइजिङ पुगेका थिए। बेइजिङमा रहँदा मन्त्री यूएले अध्यक्ष थापासँग भेटवार्ता गरेका थिए। सोही भेटका क्रममा अध्यक्ष थापाले मन्त्री यूएलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका हुन् ।
चीनका अल्पसंख्यक समुदाय मामिला सम्हाल्दै आएका मन्त्री यूए फागुन ७ गते कोलम्बो पुगेका थिए। त्यहाँ रहँदा उनले उच्च सरकारी अधिकारीसँग भेटवार्ता गरेको बताइएको छ ।
























