
विराटनगर । होटलमा बसेर सट्टेबाजी खेलाएको आरोपमा ३ जनालाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ ।
इटहरी–६ संगती चोकको एउटा होटलमा बसेर सट्टेबाजी गराएको आरोपमा इटहरी उपमहानगरपालिका–२० का ३० वर्षीय रञ्जित भनिने राजेन्द्र थापामगर, इटहरी–४ का ३२ वर्षीय सरोज कार्की र इटहरी–९ का ४१ वर्षीय अमित भनिने किरण श्रेष्ठ पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरुबाट बरामद मोबाइल, कम्प्युटर चेकजाँच गर्दा सट्टेबाजी खेल खेल्न र खेलाउन रकम जम्मा गर्ने र झिक्ने गरेको पाइयो ।
प्रहरीले बुधबार घटनाको जानकारी दिएको हो । पक्राउ परेकाविरुद्ध अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । यसमा संलग्न केही व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

























