
विराटनगर । नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत तराई मधेश जागरण अभियानका क्रममा पार्टी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताले चार दिन कोशी प्रदेशमा बिताए । जागरणसभा र भेटघाट गर्दै चार दिन झापा मोरङ र सुनसरीमा बिताएका हुन् ।
भोलिबाट मधेश प्रदेशमा अभियान सञ्चालन हुनेछ । कोशी प्रदेशका तीन जिल्लामा प्रचण्डले सम्बोधनका क्रममा वर्तमान सत्ता गठबन्धनलाई गाली गर्न छुटाएनन् । कहिले कांग्रेस र कहिले एमालेको पक्षमा उभिदा पार्टी कमजोर भएको बताउँदै उनले अब कसैसँग गठबन्धन नगर्ने र ०८४ को चुनावमा माओवादीलाई मौका दिन आग्रह गरे ।
जनतासँग नजिक हुने प्रयास
अभियानका क्रममा प्रचण्डले नागरिकसँग नजिक हुने प्रयास गरे । पार्टीका अन्य पदाधिकारीलाई सँगै लिएर हिडेका प्रचण्डले सभा र भेटघाटका क्रममा भाषण गरे । चार दिन स्वागत, भेटघाट र मर्निङवाकमा प्रचण्डले सर्वसाधाणसँग भलाकुसारी गरे ।
अभियानका क्रममा उनको खानपान अन्य कार्यकर्तासँग भयो । बिहीबार बिहान बर्जुमा कार्यकर्तासँग चना चिउरा खाएका प्रचण्डले देवानगञ्जमा कार्यकर्ताको घरमा दालभात खाए ।

सम्बोधनका क्रममा पनि उनले स्थानीय क्षेत्रको विषय छुटाएनन् । मन्तब्य अघि स्थानीयको समस्या र बस्तुस्थीति बारे ब्रिफिङ लिएर मात्रै बाेलेका थिए । बिहीबार बर्जु गाउँपालिकाको सुक्रबारे, बर्जुताल, देवानगञ्जको पाँचौंसिमर, हरिनगरको घुस्की, गढी, इनरुवा, कोशी गाउँपालिकामा भेटघाटमा प्रचण्डले स्थानीयको विषयलाई सम्बोधन गरे ।
अभियानका क्रममा प्रचण्डले मुस्लिम समुदायसँग निरन्तर छलफल गरे । मंगलबार मोरङमा मुस्लिम समुदायसँग छलफल गरेका उनले बिहीबार सुनसरीको घुस्कीमा मुस्लिम समुदायसँग सम्वाद गरे । मदर्सामा पुगेका उनले मौलनाबाट आर्शिवाद पनि लिए । राज्यमा पिछडि पारिएका जाति र समुदायको पक्षमा लड्ने पार्टी माओवादी मात्रै भएको बताए । माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले खेल्न थालेको र संविधान प्रद्दत अधिकार पनि कुण्ठित गर्न खोजिरहेको बताए ।
झापाको केचनकवलको उद्घाटन सत्रदेखि चौथो दिनको सुनसरीको इनरुवाको जागरणसभामा उनले सरकारलाई गाली गरे । ‘हामीले सुरु गरेको सुधारात्मक कार्य रोकेर सरकारले भ्रष्ट, माफिया र विचौलियालाई सहयोग पुग्ने मात्रै काम गरिरहेको छ,’ उनले भनिरहेका छन्,‘ अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको छ ।’
मधेशमा जोडिए महिन्द्र
नेकपा माओवादी केन्द्रको जागरण अभियानमा नेपाल समाजवादी पार्टी (नेसपा) पनि जोडिएको छ । सो पार्टीका अध्यक्ष महिन्द्र राय यादव सुनसरीबाट अभियानमा जोडिएका हुन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्यका अनुसार यादव आजदेखि नियमित अभियानमा हिड्नेछन् ।
यादवले पनि संविधान रक्षाका लागि माओवादीको अभियानमा सँगै हिंडेको बताएका छन् । माओवादी कमजोर हुँदा संविधानको रक्षा हुन नसक्ने बताउँदै उनले माओवादी जनयुद्ध र मधेश आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि बचाउन लागि अभियानमा हिडेको बताए । नेसपा र माओवादी केन्द्रबीच पार्टी एकताको तयारी छ । अध्यक्ष यादवले माओवादी केन्द्रले नाम फेरेको भोलिपल्ट पार्टी एकता हुने बताए । यादव २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए ।
























