
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शेर्पा समुदायले आफ्नो मिहिनेत, साहस र सीपमार्फत नेपालको नाम विश्वभर चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
ग्याल्पो ल्होसारको अवसरमा आज (शुक्रबार) शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको यो पर्वले आपसी सद्भाव भाइचारा र एकताको भावना वृद्धि गर्दै नेपाली समाजलाई समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिल्ने उल्लेख गरे ।
नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै कार्कीले यो विशेषताले नेपालीलाई सदियौंदेखि एक आपसमा सहकार्य समन्वय र वन्धुत्वको मार्गमा हिँड्न सहयोग पुर्याएको उल्लेख गरेका छन् । यो पर्वले नेपाली बीचको एकता र मित्रताको भावना थप प्रगाड बनाउँदै सामाजिक तथा आर्थिक विकासमा योगदान पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।
फागुन शुक्लपक्ष प्रतिपदाका दिन शेर्पा समुदायले यो पर्व मनाउने गरेको छ । यो पर्व हाम्रो समृद्ध सांस्कृतिक विविधता र पहिचानको सुन्दर प्रतीक भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमार्फत सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।
























