
विराटनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिले विराटनगरको महेन्द्र मोरङ क्याम्पस परिसरभित्र भएको घटनालाई दुर्भाग्यपूर्ण भनेको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । घटना नेपाल विद्यार्थी संघका लागि दुर्भाग्यपूर्ण भएको उनले उल्लेख गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकृतिका घटनाले संघको छवि माथि प्रतिकूल असर पार्ने र विद्यार्थी आन्दोलन विरोधी गतिविधिलाई मलजल पुग्ने हुँदा समग्र विद्यार्थी आन्दोलकलाई पुनर्जागृत गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने अभिभारा बोकेको संगठन नेविसंघलाई अनुशासनहीनता स्वीकार्य हुन् सक्दैन । तसर्थ, उक्त घटनाको सत्य तथ्य छानबिन गर्न निष्पक्ष छानबिन समिति गठन गरी घटनामा संलग्न जोसुकैलाई अनुशासनको दायरामा ल्याइने जानकारी गराउँछु ।’
नेविसंघले घटनाका सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कारबाही गर्नका लागि समेत क्याम्पस प्रशासनसँग माग गरेको छ । महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका २ पक्षबीच झडप हुँदा ३ जना घाइते भएका थिए ।

























