
विराटनगर । विराटनगर–७ मा रहेको मेरिल्याण्ड कलेजले २२ औं वार्षिकोत्सव र अभिभावक दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
कलेजको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विभिन्न वर्षको कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, बीबीएस तहमा बोर्ड प्रथम, द्वितीय गर्ने विद्यार्थी, कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट गर्ने, कलेजको आन्तरिक खेलकुदमा विजयी र कलेजमा १५ वर्षभन्दा बढी कार्य गरेका ११ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

शिक्षक र कर्मचारीहरू दिपेशकुमार भगत, मदन खतिवडा, महेन्द्रनारायण कर्ण, नवजित प्रधान, शशिभूषण कर्ण, श्यामकुमार झा, विजयकुमार दाहाल, लेखनाथ निरौला, भक्तिनारयाण गच्छदार, विनोद भट्टराई र देवकी मरिकलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस अवसरमा विद्यार्थीहरूले विभिन्न गीतमा आफ्नो नृत्य का साथै नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख दामोदर चापागाईं, कलेजका अध्यक्ष गुणराज ढुंगेल, उपाध्यक्ष डा. पिके झा, हिसानका केन्द्रीय उपाध्यक्ष तथा कलेजका डाइरेक्टर भेषराज पोखरेल, कलेजका प्रिन्सिपल लक्ष्मण ढकाललगायतले दोसल्ला, सम्मानपत्रका साथ सम्मान गरे ।
सम्मानपछि प्रमुख अतिथि कोइरालालगायतले शुभकामना दिँदै व्यवस्थापन संकायमा कोशी प्रदेशकै उत्कृष्ट कलेजका रुपमा रहेको हुँदा विद्यार्थीहरूको आकर्षण बढेको बताए ।

कलेजका प्रिन्सिपल ढकालले पठनपाठनसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल साबित भएको कलेज देशभरिकै उत्कृष्ट ७ मा पर्न सफल भएको स्मरण गराए ।
उनले आगामी नयाँ शैक्षिक सत्रदेखि विज्ञान संकायमा पनि पठनपाठन थाल्ने जानकारी दिए । कलेज व्यवस्थापन संकायमा जसरी स्थापित हुन सक्यो । त्यसरी नै विज्ञान संकायमा चाँडै स्थापित हुने विश्वास व्यक्त गरे ।

























