
विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बीचको विवाद चर्किएको छ ।
क्याम्पस हाताभित्र बिहीबार संस्थापन पक्षले डाक्टर शेखर कोइराला पक्षका नेविसंघ जिल्ला सभापति सरोज पोखरेलसहित तीन जनालाई कुटपिट गरेको थियो । संस्थापन पक्षले कुटपिट गर्दा घाइते भएका पोखरेल नोबेल मेडिकल कलेजमा उपचाररत छन् । सोही घटनामा संस्थापन पक्षको आक्रमणमा परेका २ जनालाई भने प्रहरीले हिरासतमा लिएको छ ।
कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै जाहेरी लिएर पुगेका नेविसंघ जिल्ला सचिव गुड्डु साह र नेविसंघका विद्यार्थी नेता संजोग गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु आक्रमण गर्ने पक्षलाई कारबाहीको माग गर्दै शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
प्रहरीले जाहेरी नलिएपछि साहले प्रहरी कार्यालयभित्रै आत्महत्या गर्ने धम्की दिए । त्यसपछि प्रदर्शन गर्न खोजे । प्रदर्शन गर्न खोजेपछि प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो । त्यसपछि पुगेका सविन दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले प्रहरी कार्यालयभित्र उच्छृङ्खल गतिविधि गर्न खोजेपछि नियन्त्रणमा लिइएको बताए । ‘हिजोको घटनापछि प्रहरीले दुवै पक्षको उजुरी दिएका छन् । तर, एउटा पक्षले प्रहरी कार्यालयभित्र उच्छृङ्खल गतिविधि गर्न खोजे । त्यसपछि २ जनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने ।
विद्यार्थी पक्राउ परेपछि नेविसंघको कोइराला पक्षका विद्यार्थीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए । महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहितको समूहले नेविसंघ मोरङका जिल्ला सभापति सरोज पोखरेल, सचिव गुड्डु साह र महेन्द्र मोरङमै अध्ययनरत नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वासमाथि कुटपिट गरेको थियो ।
दुई पक्षबीच झडप हुँदा कोइराला पक्षका ३ जना घाइते भएका थिए । स्ववियु सभापति पौडेल संस्थापन पक्षका हुन् । बिना जानकारी क्याम्पसमा नेविसंघको नयाँ इकाई गठन गर्न खोजिएपछि विवाद भएको पौडेलले बताए ।
२ पक्षबीच झडप भएपछि यो विवाद प्रहरीमा पुगेको छ । दुवै पक्षले एकअर्कालाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् । तर, प्रहरीले कसैलाई पक्राउ गरेको छैन । हालसम्म विवादसमेत मिल्न नसकेको नेविसंघका नेताहरु बताउँछन् ।
विराटनगरको महेन्द्र मोरङमा नेविसंघका विद्यार्थीबीच झडप, ३ जना घाइते
























