१७ वर्षमा पक्राउ परेका सार्के ४८ वर्षमा छुटे, ६ वर्ष अतिरिक्त थुनामा

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १९, सोमबार ०७:२६

काठमाडौं । झापा मेचीनगरका सार्के तामाङ १७ वर्षको उमेरमा पक्राउ परे । उनी ४८ वर्षको उमेरमा कारागारबाट छुटेका छन् ।

३० वर्ष ६ महिना कारागार बसेका उनले तोकिएको भन्दा ६ वर्ष बढी अतिरिक्त सजाय भोग्नु पर्यो । सर्वोच्च अदालतको आदेशपछि मात्रै उनी फागुन ६ गते कारागार मुक्त भएका हुन् ।

लागुऔषध र कर्तव्य ज्यान गरेर २ वटा मुद्दामा सार्केले अधिकतम २४ वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । तर, राज्यको कमजोरीका कारण ३० वर्ष ६ महिना सजाय भुक्तान गर्न बाध्य भए ।

नियमित प्रक्रियाबाट कानुनी उपचार नपाएपछि तामाङ वैकल्पिक उपचारबाट बन्दीप्रत्यक्षीकरण रिटको आदेशपछि कारागारबाट छुटेका हुन् । सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले उनलाई तत्काल छाड्न आदेश दिएको थियो ।

तत्कालीन मुलुकी ऐनको दण्डसजाय महल अनुसार अधिकतमभन्दा बढीको कैदलाई सर्वोच्चले गैरकानुनी भनेको छ । सार्केलाई थुनामुक्त गर्ने संयुक्त इजलासको संक्षिप्त आदेशमा भनिएको छ, ‘वादी श्री ५ को सरकार र प्रतिवादी यी निवेदक भएको लागुऔषध मुद्दा तथा चन्द्रमान तामाङको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी यी निवेदक भएको कर्तव्य ज्यान मुद्दामा ठहरेको फैसलाबमोजिम तत्काल कायम रहेको मुलुकी ऐन दण्डसजायको महलको ८ नम्बरले निजलाई हुन सक्ने अधिकतम कैदको सजाय भुक्तान भइसकेको देखिँदा सो मितिपश्चात्को निजको थुनालाई कानुनबमोजिमको थुना भनी मान्न मिल्ने नदेखिँदा निवेदक सार्के तामाङलाई गैरकानुनी थुनाबाट अविलम्ब मुक्त गर्नू ।’

तत्कालीन मुलुकी ऐनको दण्डसजाय महलमा १ व्यक्तिले एकभन्दा बढी कसुरमा सजाय पाएमा सबैभन्दा बढी कैद भुक्तान गरे पुग्ने व्यवस्था थियो । तत्कालीन मुलुकी ऐन दण्डसजाय महलको ८ नम्बरमा भनिएको छ, ‘एकै जनाले धेरै पटक सर्वस्वसहित जन्मकैद वा अरू सजाय हुने खत गरेको भए पनि कुनै खतमा सर्वस्वसहित जन्मकैद र जन्मकैदमध्ये ठूलो सजाय भएपछि सानो सजाय हुने खत वा सो सजायमध्ये कुनै सजाय भएपछि अरू सानो सजाय हुने खत खापिँदैन ।’

लागुऔषध कसुरमा तामाङ २०५१ भदौ ३ गते पक्राउ परेका थिए । लागुऔषध मुद्दामा १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिबाना भएको थियो । झुम्का कारागारमा रहेका बेला सार्केको कुटपिटबाट एक कैदीको ज्यान गएपछि कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला भएको थियो ।

२०६८ चैत १ गते सुनसरी जिल्ला अदालतले गरेको जन्मकैदको फैसला माथिल्लो तहको अदालतले सदर गरेको थियो । तत्कालीन कानुन अनुसार सार्केको हकमा जन्मकैद २० वर्ष र ऐन अनुसार नै थप ४ वर्ष गरी २४ वर्ष कैद बस्नुपर्ने थियो ।

तर, ३० वर्ष ६ महिना कैद बसेर उनी सर्वोच्चको आदेशपछि थुनामुक्त भएका हुन् । उनले तोकिएको भन्दा अतिरिक्त कैद बस्नु परेको विषयमा सर्वोच्चले थप व्याख्या गरेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.